बागलुङमा ‘एक घर, एक धारा’को लक्ष्यसहित आयोजनाको काम अगाडि बढ्यो

Posted on: 30 Jun, 2020

रामबहादुर थापा ।असार १६, बागलुङ । गलकोट नगरपालिका र बागलुङ नगरपालिका–९ मा बृहत् खानेपानी आयोजना शुरुआत भएको छ । ‘एक घर, एक धारा’को लक्ष्यसहित आयोजनाको काम अगाडि बढाइएको हो ।

‘गलकोट बृहत् खानेपानी आयोजना’को बागलुङ–२ का सांसद देवेन्द्र पौडेलले आइतबार ‘भर्चुअल’ माध्यमबाट आयोजनाको शिलान्यास गर्नुभएको थियो । बागलुङ नगरपालिका–९ को ‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत खानेपानी आयोजना’मा पनि केही दिनअघि काम थालिएको छ । 

खानेपानी मन्त्रालय अन्तर्गत बन्न लागेका दुवै आयोजना बहुवर्षीय हुन् । गलकोटको लागत रु। १५ करोड र तित्याङको रु। सात करोड छ । दुवै आयोजनाको सर्वे सकेर उपभोक्ता समिति निर्माणतिर लागेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

गलकोटको आयोजनाबाट वडा नं। ३, ५ र ७ का झण्डै १२ सय घरधुरीले लाभ लिने उहाँको भनाइ छ । “यो आयोजनामा ११ साना ‘स्किम’ छन्, वडा नं। ७ मल्मको एउटा ‘स्किम’बाट काम शुरु भएको छ”, उहाँले भन्नुभयो ।

सो आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमि र वितरण ‘पाइपलाइन’ ३२ किमि छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्ने आयोजना कार्यालयले जनाएको छ ।

गलकोट नगरपालिका–७ का अध्यक्ष टीकाबहादुर थापाले आयोजना बनेपछि मल्मसहित वडा नं। ३ हटिया र ५ हरिचौरमा खानेपानीको सहज सुविधा पुग्ने बताउनुभयो । मल्म, ढुङ्गेखानीस्थित खानेपानीको पुरानै मुहानबाट नयाँ आयोजना विस्तारको काम शुरु भएको उहाँको भनाइ छ ।

‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत् खानेपानी आयोजना’बाट ५७२ घरधुरीका करिब ३८ सय जना लाभान्वित हुने भएका छन् । सो आयोजनामा पनि १० देखि ५० घनमिटरसम्मका ट्याङ्की निर्माण हुने उपभोक्ता समितिले जनाएको छ ।

आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ ७ किमि र वितरण ‘पाइपलाइन’ १७ किमि छ । दुवै आयोजना आगामी तीन वर्षभित्र सक्ने लक्ष्य रहेको सिनियर इन्जिनियर केसीले बताउनुभयो । आगामी आवमा गलकोटको आयोजनाका लागि रु। ५० लाख र तित्याङको लागि रु। ३० लाख बजेट छुट्टिएको छ । 

काम नसकुञ्जेल क्रमागत रुपमा बजेट आउने आयोजना कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश थापामगरले स्रोत भएर पनि समयमा आयोजना नबन्दा खानेपानीको समस्या निम्तने गरेको बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरभित्रका सबै घरमा धारा निर्माण गर्न सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको बताउनुभयो । उहाँले शुरु भएका आयोजनालाई अलपत्र पर्न नदिइने उल्लेख गर्नुभयो । सांसद देवेन्द्र पौडेलले घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने सरकारी नीति रहेको जानकारी दिनुभयो । “अहिले बन्न लागेका आयोजना पनि ‘एक घर, एक धारा’ अभियान अन्तर्गतकै हुन्”, उहाँले भन्नुभयो ।

खानेपानी मन्त्रालयको लगानीमा जिल्लामा २० आयोजना सञ्चालित छन् । तीमध्ये १५ वटा क्रमागत र पाँच नयाँ आयोजना हुन् । ती आयोजनाका लागि आगामी आवमा रु ३३ करोड २६ लाखभन्दा बढी बजेट छुट्टिएको छ । प्रदेश सरकार र स्थानीय तहको लगानीमासमेत कैँयन खानेपानी आयोजना निर्माणाधीन छन् । प्रदेश सरकारले पनि आगामी दुई वर्षभित्रमा गण्डकीका सबै घुरधुरीमा आधारभूत खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएको छ ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!