बन्ने भो माझी बस्ती

Posted on: 11 Jan, 2017

पुस २७, बागलुङ । सडकका कारण विस्थापित बनेका यहाँका सीमान्तकृत माझी समुदाय पुनःस्थापित हुने भएका छन् । विसं २०४६ मा बागलुङ– पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएका माझी घर पाउने भएपछि खुसी भएका हुन् । 

बागलुङ नगरपालिका कार्यालयले माझी बस्ती व्यवस्थापन कार्र्य अघि बढाएको हो । माझी व्यवस्थापनको सबै काम एक वर्षभित्र पूरा गरिने घर निर्माण गर्ने ठेकेदार कम्पनी र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ । 

बागलुङ नगरपालिका– १ खनियाँ बासमा १४ माझी परिवारका लागि घर निर्माण हुनेछ । प्रति एक परिवारले पाउने तीन आना जग्गामा तीन कोठे घर निर्माण हुने नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । 

‘ब्लक’ र जस्तापाता प्रयोग गरेर बनाइने एक तल्ले ती घर कुल रु ८२ लाख ३० हजारको लागतमा निर्माण हुने भएका छन् । 

नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा निर्माण हुने शौचालयसहितको तीन कोठे घर करिब रु ६ लाखमा निर्माण हुनेछ । । 

नगरपालिका र स्थानीयवासीको लामो प्रयासपछि माझी समुदायको दीर्घकालीन व्यवस्थापन सम्भव भएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीको भनाइ छ । ‘२०७४ दसैँभित्र माझी परिवारलाई घर हस्तान्तरण गर्छौं, यो नगरपालिकाको प्राथमिकता प्राप्त र महत्वपूर्ण योजना हो’ अधिकृत अधिकारीले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!