बाग्लुङमा लागुऔषधसहित १८ बर्षीय युवक पक्राउ

Posted on: 09 Jun, 2017

जेठ २६, बागलुङ । अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । 

भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षका हरिजनलाई बागलुङ नगरपालिका-१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । 

हरिजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ अनिलकुमार खड्काले जानकारी दिनुभयो । हरिजन भारतबाट लागुऔषध ल्याई बागलुङ आसपासका क्षेत्रमा बेच्ने कार्यमा सक्रिय थिए । “लागुऔषधको कारोबारमा ठूलै गिरोह सक्रिय छ”, प्रनाउ खड्काले भन्नुभयो, “प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।” गत मङ्गलबार मात्रै लागुऔषधसहित तीन युवकलाई प्रहरीले बागलुङ–पर्वत सीमास्थल मालढुङ्गाबाट पक्रेको थियो । 

तीमध्ये एक युवक बागलुङ नगरपालिका–३ बस्ने सुनिल पुन प्रहरीलाई छलेर भाग्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता छन् । बागलुङबाट ट्याक्सीमा पर्वतको कुश्मा जाँदै गरेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामा प्रहरीको नियन्त्रणमा छन् । उनीहरुको साथबाट लुकाई छिपाई राखेको लागुऔषध डाइजेपाम तीन, नुर्फिन तीन, फेनार्गन चार एम्पुल, नाइट्राजेपाम तीन र चार थान सुई प्रहरीले बरामद गरेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!