बाग्लुङ मालपोतका हाकिम घुस लिँदै गर्दा रंगेहात पक्राउ

Posted on: 13 Oct, 2017

असोज २७, बाग्लुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीद्धारा बाग्लुङ मालपोत कार्यालयका हाकिम घुस लिँदै गर्दा पक्राउ परेका छन् । 

अख्तियारका सूचना अधिकृत रमेश ढकालका अनुसार विहिबार साढे चार बजेको समयमा मालपोत अधिकृत विश्वनाथ शर्मालाई निजकै कोठाबाट १० हजार रुपयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

शर्माले सेवाग्राहीसंग घुस मागेको भनी अख्तियारको क्षेत्रिय कार्यालय पोखरामा दिइएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । 

साबिक कालिका गाविस वडा नं २ को जग्गा राजिनामा पास गर्ने काममा मालपोत अधिकृत शर्माले रामरेखाका आचार्य थरका एक जना व्यक्तिबाट घुस लिएका थिए ।

नियन्त्रण लिईएका अधिकृत शर्माले मुचुल्कामा हस्ताक्षर गर्न इन्कार गरे पनि अन्य साक्षीको रोहवरमा मुचुल्का तयार गरी अधिकृत शर्मालाई थप अनुसन्धानका लागि अख्तियार टोली पोखरा लागिसकेको छ ।

घुस लिएको सूचना पाएपछि अख्तिायारको टोली दुई दिन देखि बाग्लुङ सदरमुकाममा रहेको थियो । मालपोत कार्यालयका प्रमुख रंगेहात पक्राउ परेपछि कर्मचारीतन्त्रमा खैलाबैला मच्चिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!