बागलुङ जिल्ला अदालतबाट ९ महिनामा सम्वन्ध बिच्छेदका ७६ मुद्दा फछ्र्यौट

Posted on: 08 Apr, 2018

बिमल खड्का/चैत्र २५ बागलुङ। पछिल्लो समय पतिपत्नीबीच सम्बन्ध बिच्छेदका घटनाहरुमा बृद्धि भएको छ। लोग्ने बैदेशिक रोजगारीमा जाने क्रम ह्वात्तै बढे सँगै पतिपत्नी बीच सम्बन्ध बिच्छेद हुने गरेको तथ्याँकले देखाएको छ। महिला मैत्री नेपालको कानूनले पनि सम्वन्ध बिच्छेदका घटनाहरु बढ्नुमा सहयोग पुगेको विश्लेषण गरिएको छ। यसरी सम्वन्ध बिच्छेदका घटनाहरु दिनपरदिन बढ्दै जाँदा पारिबारिक बिचल्लीको अवस्था समेत समाजमा देखिएको छ ।

बागलुङ जिल्ला अदालतमा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सर्वाधिक सम्वन्ध बिच्छेदका मुद्दा परेको छ । अदालतका अनुसार पतिपत्नी बीच सम्वन्ध बिच्छेदका ७६ मुद्दा परेको हो । महिलाका तर्फबाट ७४ र पुरुषका तर्फबाट २ सम्वन्ध बिच्छेदका मुद्दा दायर भएकोमा सबै फछ्र्याैट भएको अदालतले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्या अझै बढ्ने बताईएको छ ।

बागलुङ जिल्ला अदालतबाट प्राप्त तथ्यांक अनुसार गत आबको जिम्मेवारी सरेको १२७ र यहि चैत १९ गते सम्म परेका २७५ गरी जम्मा ४०२ मुद्दाहरुमा २१० फछ्यौँट भएका छन् । तथ्यांक अनुसार २ वर्ष नाघेको १ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।

फौज्दारी तर्फ गत आबबाट सरेको १७ र हालसम्म परेको ६२ गरी जम्मा ७९ मुद्दाहरुमध्य ४० फछ्र्याैट भएका छन् भने देवानी तर्फ गत वर्षको जिम्मेवारी सरेको ६४ र हालसम्म परेको ८७ गरी १५१ मुद्दाहरुमा ५९ थान फछ्र्यौट भएका छन् ।

यसैगरी देवानी फौज्दारी तर्फ गत आवको बाँकी ४६ र हाल सम्म परेको १२५ समेत जम्मा १७१ मध्य चैत १९ गतेसम्म ११० फछ्र्यौट भएको तथ्यांकले देखाएको छ ।

जिल्ला अदालतबाट गत चैत १९ गते सम्ममा १५ जबरजस्ती करणी र कर्तव्य ज्यान सम्वन्धी ४ मुद्दा फछ्यौट भएको श्रोतले बतायो ।

श्रोतका अनुसार घरेलु हिँशाका ७, बहु बिबाह ४, अंश सम्वन्धी ४७ मुद्दा छिनिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!