पहिरोले पुरेर बाग्लुङ्गमा दुई जना र प्युठानमा एक बेपत्ता

Posted on: 15 Aug, 2018

प्रेम सुनार । साउन ३०, बुटवल।  गएरातीको अविरल वर्षा संगै गएको पहिरोले बाग्लुङ्गमा दुई जना र प्युठानमा एक जना बेपत्ता भएका छन ।  बाग्लुङ्गको  निसीखोला गाउँपालिका वडा नम्वर– ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी  श्रीमती धन (दिल) कुमारी शाही र बुहारी डल्ली शाही वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले  जानकारी दिए  । अहिले उद्धार कार्य भई रहेको उद्धारकार्य भैरहेको प्रजिअ खरेलले जानकारी दिए । 


यता प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको ठाडो खोल्सा तथा बतासे खोलामा गएराति भलबाढी आउँदा बुर्तिबाङ बजारको सिमसार टोलका स्थानीय प्रभावित बनेका छन् । 

हिजो साँझबाट परेको अविरल बर्षासंगै राती करिव ११ बजेको समयमा बतासे खोलामा बाढी आउन सुरु गरेपछि सिमसार टोलका बासिन्दा प्रभावित भएका हुन् । 

बाढीले कुनै मानवीय क्षती भने गरेको छैन । यद्यपी बाढीले धनमाल बगाउँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।  

यसअघि पनि गत साउन १ गते राती आएको बाढीका कारण उक्त टोलका ४४ घरपरिवार प्रभावित भएका थिए । जस मध्य ६ घरपरिवार पुर्णरुपमा विस्थापित हुनुपरेको थियो । गएराती परेको मुसलधारे पानीले मध्यपहाडी लोकमार्गको बुर्तिवाङदेखि  निसी बोहोरागाउ, भल्कोट हुँदै रुकुम खण्ड पनि अवरुद्ध बनेको छ । सो सडकमा साना ठुला कुनैपनि सवारी साधन चलेका छैनन् ।  खर्वाङ्ग स्थित पत्रकार कमल पौड्यालका अनुसार गएरती देखि अहिले सम्म बढिघाट खोलामा पानीको वहाव यस वर्ष कै सवै भन्दा ठुलो भई रहेको छ । 

त्यस्तै अविरल वर्षापछि आएको पहिरोमा पुरिएर प्यूठानमा पनि  एकजना वेपत्ता भएका छन् । गौमुखी गाउँपालिका ४ डाँजगाउँका झलक बहादुर सुनार वेपत्ता भएका हुन् ।

आज  विहान करिब ७ वजे घर माथिबाट खसेको पहिरोमा पुरिएर उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसी राजेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार पहिरोले सोहि स्थानका  देब बहादुर सुनार र रमेश सुनारको समेत घरगोठ समेत बगाएर उनिहरु विस्थापित भएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!