बागलुङका चार ‘नमूना गाउँ छनोट’

Posted on: 09 Mar, 2019

फागुन २५, गलकोट | गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् । 

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लास्तर छनोट समितिले सिफारिस गरेअनुसार ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनोट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ काठेखोला गाउँपालिका–७ रेश गाउँ र जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ, ताराखोला गाउँपालिका–५ करिमेला गाउँ र निसीखोला गाउँपालिका–५ मसलगाउँ छनोट भएका छन् । 

कृषि ज्ञानकेन्द्र प्रमुखको संयोजकत्वमा पशु सेवा विज्ञकेन्द्र प्रमुख, सम्बन्धित तहको प्रमुख प्रशासकीय अधिकृत वा प्रतिनिधि, सम्बन्धित स्थानीय तहका कृषि वा पशु सेवा प्राविधिक कर्मचारी सदस्य र ज्ञान केन्द्रले तोकेको अधिकृतस्तरको कर्मचारी सदस्य सचिव रहेको छनोट समितिले नमूना कृषि गाउँ छनोट गरेको प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताउनुभयो । 

गाउँ छनोट गर्दा पर्यटकीय क्षेत्र र कृषि पर्यटनको सम्भाव्यता भएका ठाउँलाई प्राथमिकता दिइएको छ । छनोट भएका गाउँको ५० घरधुरीबाट एक÷एक सदस्य रहने गरी कृषि सहकारी वा समूहमार्फत् त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारीखेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादन गर्न सक्नेछन् । 

मन्त्रालयले एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँका लागि गण्डकी प्रदेशको ३६ गाउँलाई नमूना कृषि गाउँका रुपमा छनोट गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रु १० करोड ८० लाख बजेट विनियोजन गरेको छ । 

छनोट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष रु ३० लाखका दरले अनुदान उपलब्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

कार्यक्रम सञ्चालन गर्दा ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकूलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सह सिकाइ कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!