बागलुङ : शैक्षिक महोत्सवमा डेढ करोड सङ्कलन

Posted on: 21 May, 2019

जेठ ७, गलकोट । जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा रु एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ । 

विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त भएको जग्गाको मूल्यसमेत जोड्दा रु एक करोड ७२ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ । 

विद्यालयले कक्षा ११ र १२ मा सिटिभिटीबाट सम्बन्धन प्राप्त अमिन, कृषि तथा भेटेनरी र पूर्णप्रविधि मैत्री विद्यालय बनाउनका लागि शैक्षिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताउनुभयो । “विद्यालयमा हाल ११ र १२ मा शिक्षा सङ्काय मात्र सञ्चालनमा छ, यसै वर्षदेखि  व्यवस्थापन सङ्कायसमेत थप्नेछौँ”, प्रअ थापाले भन्नुभयो, “विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि शैक्षिक महोत्सव कोसेढुङ्गा सावित हुनेछ ।” 

शैक्षिक सुधारको योजाना ल्याएपछि विद्यालयको शैक्षिक गुणस्तरमा क्रमश सुधार आएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो । सो विद्यालयमा ४३७ विद्यार्थी अध्ययनरत् रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!