बागलुङममा ट्याक्सी दुर्घटनामा एकको मृत्यु

Posted on: 15 Jun, 2019

जेठ ३२, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की रहनु भएको छ । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिनुभयो । 

रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

बागलुङमा ‘स्वस्थ जीवन’ अभियान

‘स्वस्थ जीवन’ अभियानअन्तर्गत गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर र योग शिविर सञ्चालन गरेको छ ।

निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट ३०४ ले सेवा लिएका छन् । धौलागिरि अञ्चल आयुर्वेद औषधालय, बागलुङमा शिविर चलेको थियो । “बिरामीको निःशुल्क जाँचसहित औषधि पनि वितरण ग¥र्यौँ”, औषधालयका प्रमुख हरि पौडेलले भन्नुभयो, “५० जनाले प्रयोगशाला सेवा पनि लिनुभएको छ ।” शिविरमा पोखरादेखि आएका विशेषज्ञ आयुर्वेद चिकित्सक कमल शर्मा, कमलराज अधिकारीलगायतले बिरामीलाई सेवा प्रदान गरेका थिए ।

बिहीबारदेखि शुरु भएको योग शिविर भने आजसम्म चल्नेछ । स्वस्थ जीवनयापनमा सघाउने उद्देश्यले मन्त्रालयले निःशुल्क योग शिविर सञ्चालन गरेको हो । शिविरमा योग गुरु डा योगी विकासानन्दले सहजीकरण गरिरहनुभएको छ । योग साधनाका विधिबारे शिविरमा प्रशिक्षण भइरहेको सहभागी कोपिला कँडेलले बताउनुभयो । “योगका माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ रहने उपायबारे राम्रो सिकाइ भएको छ”, उहाँले भन्नुभयो । शिविरमा दैनिक ४०० को सहभागिता छ ।

मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रवद्र्धनमा जोड दिएको छ । सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने मन्त्रालयाको उद्देश्य छ । “नसर्ने रोगको औषधि नै योगा हो”, योगी विकासानन्दले भन्नुभयो, “स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!