प्रविधिमैत्री बन्दै न्यायालय

Posted on: 19 Jul, 2021

खेमराज गौतम । साउन ४, गलकोट (रासस)। अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार हुन्छ । फैसलाको पूर्णपाठ अदालतमा तयार मात्रै हुँदैन, उच्च अदालत पोखरा बागलुङ इजलासको वेबसाइटमा समेत अपलोड हुन्छ । जबकि २१ दिनभित्र फैसलाको पूर्णपाठ तयार गर्नुपर्ने अदालतको नियम छ । 

उच्च अदालत पोखरा बागलुङ इजलासले पछिल्लो समय आफूलाई प्रविधिमैत्री बनाएर न्याय सम्पादनमा चुस्तता प्रदान गर्न थालेको छ । जनतामा न्याय महँगो छ, ढिलासुस्ती छ भन्ने भ्रम चिर्नका लागि न्यायालयले आफूलाई छिटोछरितो बनाउनका लागि डिजिटल प्रविधिलाई आत्मसात् गरेको छ । अहिले घरमै बसेर मुद्दा नम्बरका आधारमा फैसला र पूर्णपाठ अनलाइनमै पढ्न पाउने व्यवस्था गरिएको मात्र छैन, मुद्दाको पेशी तथा फैसलाको सूचीसमेत वेबसाइटमा हुन्छ । कोरोना महामारीको समयमा एक दर्जन अत्यावश्यक मुद्दा भर्चुअल माध्यमबाटै बहस भएर छिनोफानो भएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार तथा सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिनुभयो ।

“न्याय सम्पादन छिटोछरितो गराउन सकेमा मात्रै अन्यायमा परेकालाई न्यायको आभाष हुन्छ, अहिले न्यायालय क्रमशः प्रविधिमैत्री बन्दै गएका छन्, मिसिल स्क्यान गरेर कम्प्युटरमा राख्ने गरिएको छ”, सुवेदीले भन्नुभयो, “केही मुद्दा कोरोना महामारीका बीच कानून व्यवसायीले आफ्नो फर्मबाटै भर्चुअल माध्यमबाट बहस गरेर अदालतबाट न्यायाधीशले फैसलासमेत गर्नुभयो, मुद्दाका पक्ष विपक्षले फर्मबाटै फैसला सुने ।” रजिष्ट्रार सुवेदीका अनुसार अनलाइन तामेली तथा सूचना प्रविधिको उच्चतम प्रयोग गरी छिटोछरितो म्याद तामेल गर्ने, फैसलाको नक्कल पाऊँ भनी निवेदन दिएको १५ मिनेटभित्रै उपलब्ध गराउने र दोभासेका लागि साङ्केतिक भाषाका लागि जनशक्ति तयारीसमेत गरेको छ । 

अदालतको वेबसाइटमा प्रमाणीकरण भएका फैसला, दैनिक पेशी सूची, साप्ताहिक पेशी सूची, पूरक पेशी सूची, मुद्दाको विस्तृत विवरण, फैसलाको पूर्णपाठ तथा वार्षिक कार्ययोजना राखिएको छ । अदालतले जनतालाई सरल तरिकाले न्यायसम्पादन गर्नका लागि आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधीश द्वारिकामान जोशीले बताउनुभयो । 

मुद्दाको विवरण सफ्टवयरमा भर्ना साथ मुद्दाको फैसला गर्ने अवधिसमेत सफ्टवयरले दिने गरेको, सञ्चारकर्मीसँग निरन्तर अदालतमा भएको मुद्दा फछ्र्योटको विषयमा अन्तक्र्रिया गरिएको  न्यायाधीश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्दा दर्ता गर्ने समयमा मोबाइल नम्बर उपलब्ध गराएमा पेशीको जानकारीलगायतका सूचना एसएमएसमार्फत प्रदान गरिएको र फैसला वेबसाइटमा प्रमाणित भएको १० मिनेटमै अपलोड गर्ने गरिएको छ । 

“न्यायालयप्रतिको परम्परागत जनधारणा बदल्न आवश्यक ठानेका छौँ, पहिलाजस्तो एउटा मुद्दा वर्षौंसम्म फैसला नहुने भन्ने हुँदैन, हाम्रो अदालतका दुई वर्ष नाघेको मुद्दानै शून्य अवस्थामा छ”, न्यायाधीश जोशीले भन्नुभयो, “न्यायालयसमेत विस्तारै जनमुखी र सेवा प्रवाहमा चुस्तता दिन प्रयास गरिरहेका छन्, जसलाई प्रविधिले सघाउ पुर्याएको छ ।” उच्च अदालत पोखरा बागलुङ इजलासमा डिजिटल अभिलेखसमेत राख्न थालिएको छ । मिसिल कुहिने, हराउने र बिग्रिने समस्या रोक्न अदालतले डिजिटल अभिलेख राख्न थालेको हो । अदालतमा पाँच हजार १६५ मिसिल कम्प्युटरमा इन्ट्री गरिएको छ । यस्तै ७३८ वटा स्क्यान गरिएका मिसिल राखिएको छ । डिजिटल अभिलेख राख्न अन्य अदालतबाट मिसिल झिकाउँना साथ डिजिटल कपी तुरुन्तै पठाउनसमेत सहज भएको छ । यसबाट अदालतबीच समेत समन्वयमा सहजीकरण भइरहेको छ । सबै मिसिलको स्क्यान कपी राख्ने अदालतमा तयारी छ । 

उच्च अदालत पोखरा बागलुङ इजलासले आर्थिक वर्ष २०७७/०७८ मा १७७ मुद्दा फछ्र्योट गरेको छ । विसं २०७७/०७८ मा जिम्मेवारी सरेर आएका १४९ मुद्दा र नयाँ दर्ता भएका २०३ मुद्दा गरी ३५२ मुद्दामा जम्मा १७७ मुद्दा फछ्र्योट भएको हो । कोरोनाका कारण अदालतले लक्ष्यअनुरूपको मुद्दा फछ्र्योट गर्न नसकेको उच्च अदालत पोखरा बागलुङ इजलासले जनाएको छ । गत आवमा ५०.२९ मुद्दा फछ्र्योट गरेको छ भने १७५ मुद्दा बाँकी छ । उक्त मुद्दा आव २०७८/७९ मा जिम्मेवारी सरेको छ । अदालतका सेवाग्राहीलाई मद्दत गर्नका लागि ‘के म सहयोग गर्न सक्छु’ भनेर ज्याकेटमा लेखिएको एक जना सहयोगीसमेत खटाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!