सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु

Posted on: 31 Mar, 2021

चैत १८, बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।

यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ । उहाँले भन्नुभयो,“उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन शुरु गरिएको छ । ” सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उहाँले बताउनुभयो । सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम शुरु भइसकेको  हो । उहाँले भन्नुभयो,“चीनका विज्ञ टोली आएर खानी उत्खनन शुरु भएको छ ।”

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिनुभयो । फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो,“खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना पनि छ ।” खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पु¥याउनेलगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!