उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुने

Posted on: 01 Nov, 2019

कात्तिक १५, बैतडी | आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो । 

निर्वाचन हुने तीन वडामा पाँच वटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार–४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चौंडी नगरपालिका–४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदान केन्द्र तोकिएका छन् । पीपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् । वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडामा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।  

यसैबीच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरि ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । पालिका प्रतिनिधिको उम्मेदवारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ । कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

यस्तै कात्तिक ३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मङ्सिर १ गते बिहान उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने  कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । उपनिर्वाचनका लागि यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी थालिसकेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!