बैतडीको ६ वटा लघु जलविद्युत् बन्द हुँदा अन्धकार

Posted on: 28 Apr, 2018

वैशाख १५, बैतडी | जिल्लाको दुर्गम सिगास गाउँपालिकामा सञ्चालनमा रहेका सातवटा लघु जलविद्युत् आयोजनामध्ये छवटा पूर्णरुपमा बन्द भएका छन् । 

मर्मत सम्भारको अभावमा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । 

२०५८ सालमा निर्माण भएको सिगास गाउँपालिकाको शिवलिङ्गमा रहेका १० किलोवाट क्षमताको सिराडीखोला लघुजल विद्युत आयोजना, सोही बर्ष निर्माण भएको ८ किलोवाट क्षमताको बल्लेखोला लघुजल विद्युत आयोजना , त्यसको दुई बर्षपछि निर्माण भएको १८ किलोवाट क्षमताको नेउलालीगाँड लघुजलविद्युत आयोजना र २०६५ सालमा निर्माण सम्पन्न भएको १६ किलोवाट क्षमता भएको न्वाघरीगाड लघुजल विद्युत आयोजना अहिले बन्द रहेका छन् । 

सिगास गाउँपालिकाको शिवलिंगमा रहेका ४ ओटा लघुजल विद्युत आयोजनाबाट ५२ किलोवाट विद्युत उत्पादन भइरहेको थियो भने ५१२ घरधुरीले बिजुली बालीरहेका थिए । तर ती आयोजना बन्दभएपछि स्थानियबासी अन्धकारमा बस्दै आएका छन । यस्तै सिगास गाउँपालिकाको वडा नं १ मा रहेको इरानागाड लघुजल विद्युत आयोजना पनि पूर्ण रुपमा बन्द भएका छन् । 

लाखौको लगानी गरेर निर्माण गरिएका लघुजलविद्युत आयोजना बन्द भएपछि अहिले एकहजार बढी घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको उर्जा तथा वातावरण शाखा र विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा निर्माण भएका ती जलविद्युत आयोजनाहरु बन्द हुँदा लाखौं सामग्री नष्ट हुने अवस्थामा पुगेका छन् । 

गाउँपालिकाको वडा नं ८ मा रहेका बल्लेखोला र सीराडी खोल लघुजल विद्युत आयोजनामा तार र पोल बाहेक अरु सामग्री नष्ट भईसकेका वडा अध्यक्ष कर्णबहादुर साउँदले जानकारी दिनुभयो । वडा नं ६ मा रहेका थलालीगाड लघुजलविद्युत आयोजना मर्मतका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ भने न्वाघरीगाड र न्यौलालीगाड लघुजल विद्युत आयोजना मर्मतका लागि पच्चीस पच्चीस लाख रुपैया विनियोजन गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!