यसरी हुदै छ पाटन विमानस्थलमा कालोपत्रे

Posted on: 12 Dec, 2019

मंसिर २६, बैतडी | लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ | विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि कालोपत्रको कार्य शुरु गरिएको हो |


कालोपत्रको काम अबका २० दिनमै सकिने निर्माण कम्पनी ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीका इञ्जिनीयर पुरन रावलले बताए। वर्षा नभई मौसमले साथ दियो भने २० दिनभित्रै कालोपत्रको काम सकिने उनको दाबी छ | लामो समयपछि विमानस्थल कालोपत्रको काम अगाडि बढेपछि स्थानीय बासिन्दा खुशी भएका स्थानीय पत्रकार वसन्त विष्टले बताए |

विमानस्थल कालोपत्रपश्चात् अन्य संरचना बनाउन अझै समय लाग्नेछ। विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ रनवे कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ। यसका लागि करीब मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ। 

पाटनमा विसं २०३२ मा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। 

उक्त विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने विश्वास गरिएको छ। विमानस्थल सञ्चालनमा आएपछि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!