बैतडीमा वडाको काम पनि नगरपालिकाबाटै, स्थानीयलाई सास्ति

Posted on: 30 Dec, 2019

पुस १४, बैतडी | सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन्। गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर लिनुपर्ने भएको छ।

यो बाध्यता बैतडीको तल्लोस्वराडमा रहेको मेलौली नगरपालिकाको हो। मेलौली नगरपालिकाका नौवटै वडामा सचिव छैनन्। सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। वडा कार्यालयमा सचिव नहुँदा समस्या भएको मेलौली–७ का केशवसिंह भाटको गुनासो रहेको छ। “वडामा हुने कामका लागि नगरपालिका धाउनुपर्ने बाध्यता छ”, उनले भने, “गाउँमा कर्मचारी नहुँदा समस्या भएको छ।” कर्मचारी समायोजन पश्चात नगरपालिका र वडामा कर्मचारी अभाव रहेको हो। 

वडामा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए। “पञ्जीकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार छ”, उनले भने, “एकजनाले नगरपालिकामै बसेर नौवटै वडाको काम गर्नुपर्ने बाध्यता रहिआएको छ।” वडामात्रै नभएर नगरपालिकामा पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा दैनिक कामकाजमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ। 

स्थानीय तह स्थापना भएदेखि नै नगरपालिकाले सचिवको अभाव झेलिरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए। उनले भने, “कर्मचारीको अभावमा नगरपालिकाका सेवा प्रभावित भएका छन्।” कर्मचारी अभावमा नागरिकले चाहेजस्तो सेवा दिन कठिनाइ भएको नगरप्रमुख नायकको भनाइ छ। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!