प्रधानमन्त्री देउवा बैतडी आउँदै

Posted on: 17 Nov, 2017

मङ्सिर १, बैतडी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बैतडी आउनुहुने भएको छ । 

नेपाली काँग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको छ । 

दिउँसो १ बजे पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना हुने सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेका जिल्ला सचिव वीरबहादुर बिष्टले जानकारी दिनुभयो । लोकतान्त्रिक गठबन्धनको औचित्यका बारेमा नागरिकलाई जानकारी गराउन पार्टी सभापति एवं प्रधानमन्त्री आफैँ आउन लाग्नुभएको सचिव बिष्टले जानकारी दिनुभयो । 

यस्तै, प्रधानमन्त्री देउवाले आज नैै बिहान १० बजे दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस, दार्चुलाले जनाएको छ । प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने भएपछि बैतडी र दार्चुलाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षाको सुरक्षा व्यवस्था चुस्त–दुरुस्त पारिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

यसैगरी, वाम गठबन्धनले पनि चुनावनजिक आएसँगै केन्द्रीय नेताको उपस्थितिमा चुनावी सभा गर्ने जनाएको छ । आज बैतडीको देहीमाडौँमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले सम्बोधन गर्ने एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो । 

साना दलहरुले घरदैलोमार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफूले घरदैलोमार्फत चुनावी अभियान जारी राखेको विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणदत्त अवस्थीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!