बैतडीमा दशरथ चन्दको जन्मघरमा शहीद दिवस यसरी मनाइयो

Posted on: 31 Jan, 2018

माघ १७, बैतडी । शहीद दशरथचन्दको जन्मभूमि बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मंगलबार शहीद दिवस मनाइयो । 

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको शहीद सदनमा विशेष श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो । 


शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २३औँ वार्षिकोत्सवसमेत भएकाले प्रतिष्ठानका सचिव दुर्गादत्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अधिकांश वक्ताहरुले शहीदका सपना अझै पनि पूरा नभएकाले शहीदका सपना पूरा गर्ने दिशातर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । 

यसैबीच, शहीद दशरथचन्दको जन्मघर हेर्न आउने पाहुनालाई सजिलो होस् भन्नका लागि नजिकै होमस्टे सञ्चालनको तयारी पनि भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । बैतडी सदरमुकामस्थित गढीचोकमा रहेको शहीद दशरथचन्दको शालिकमा माल्यार्पण पनि गरिएको थियो । 

अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं ७ का प्रदेश सांसद माया भट्टले शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गर्नुभयो । 

यस्तै, शहीद दिवसका अवसरमा बैतडीको पुरचौँडी नगरपालिका–९ तल्लादेहीमा देउडा कार्यक्रम सम्पन्न गरिएको छ । बालविवाह र महिला हिंसा न्यूनीकरणका विषय समेटेर महिला उत्थान समाजले अक्सफामको सहयोगमा सो कार्यक्रम सम्पन्न गरेको हो । 

देउडा कार्यक्रममा सामुदायिक छलफल केन्द्रका महिला सदस्यलगायत २०० जनाको सहभागिता रहेको महिला उत्थान समाजका कार्यक्रम संयोजक काशिसिंह बिष्टले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!