४ जनाको हत्या गरेका ८० वर्षीय वृद्ध जेल चलान

Posted on: 18 May, 2017


जेठ ४, बैतडी | बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 

विसं २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थीसहित चारजनाको खुकुरी प्रहार गरी हत्या गरेका भट्टलाई जेल चलान गरिएको उहाँले बताउनुभयो । 

सो दिन सदरमुकाम गोठलापानीबाट फर्किएको भनी अबेर भइसकेपछि बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेको र सोही राति धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका चारजना सदस्यको हत्या गरेका बताइएको छ । 

प्रहरीले ८० वर्षीय भट्टलाई सोमबार मात्रै घरमा आएका बेला पक्राउ गरी जेल चलान गरेको हो । जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० वर्षे कैद सुनाएको थियो । 

भट्टलाई २० वर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो । जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ । 

बोकेर यताउता लैजानुपर्ने अवस्था रहेपनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!