३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

Posted on: 18 Jul, 2017


साउन ३, काठमाडौँ । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । 

१५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो । १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन ।

१७ औं पटकमा बल्ल छोरा जन्मियो । परिवारमा खुसी छायो । अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन् । जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन । 'मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ । म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र !' देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उहाँको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ ।

देउता खुसी पार्न यातना

कलिलै उमेरमा विवाह र निरन्तर गर्भवती हुनुको पीडा खपिसाध्य छैन । त्यसमाथि देउता खुसी पार्ने नाममा दिइने यातनाले देवकी शारीरिक र मानसिक रूपमा कमजोर बन्दै हुनुहुन्छ । सुत्केरी भएको चार दिनमा उहाँलाई गोठको कुनाबाट घरको कुनामा सारिन्छ । गर्भवती भएको ६ महिनादेखि बच्चा पाएको २२ दिनसम्म उहाँलाई परिवारका कुनै सदस्यले छुँदैनन् । भुटेको भात खान पाउनुलाई पनि भाग्यमानी सम्झिनुपर्छ । पीडाका बेला आफ्ना मान्छे झन् टाढा हुँदा देवकीको मन भक्कानिन्छ । ३५ वर्षमा १८ पटक सुत्केरी भएकी देवकीको आँखा नरसाएका दिन छैनन् । गर्भवती र सुत्केरीलाई देवीदेवताको मन्दिर भएको बाटो नै हिँड्न दिँदैनन् स्थानीय । त्यो पीडा देवकीले निरन्तर भोग्नुपरेकै छ किनकि धेरैजसो स्वास्थ्य संस्थासमेत देवीदेवताकै आसपास छन् ।

गर्भवती होस् या सुत्केरी, पर्याप्त पोषिलो र तागतिलो खाना खानुपर्छ । त्यसले आमा र बच्चा दुवैको जीवन स्वस्थ बनाउँछ । तर, देवकीलाई दूध, दही, हरियो सागसब्जी, फलफूल, गेडागुडीको झोलजस्ता पोषिलो खाना दिइँदैन । 'बच्चा मरेको मर्‍यै भए । अस्पताल जाँदा पनि केही भएन । वैद्यकहाँ धाउँदाधाउँदा बल्ल एउटा छोरो जन्मियो । आमालाई दूध-दही, हरियो-परियो दियो भने त्यो पनि मर्छ', पति घनश्यामले भन्नुभयो, 'पाप हुने काम गर्नुहुन्न । यो हाम्रो समाजको नियम हो ।'

देवकीजस्तै सुदूरपश्चिमका अधिकांश सुत्केरीले देउता खुसी पार्ने नाममा यस्तो यातनामा बाँच्नुपरेको छ । धेरै सुत्केरी र नवजात शिशुको ज्यान जाने गरेको छ । 'म धन्न बाँचेको छु । मेरा धेरै छिमेकी यस्तो बेला मरेका छन् । बच्चा त कति खेर जान्छन् कति,' देवकीले भन्नुभयो ।

देवकीको भनाइमा सत्यता भएको बैतडी जिल्ला अस्पतालका प्रमुख एवं सुत्केरी रोग विशेषज्ञ डा. गुणराज अवस्थी बताउनुहुन्छ । 'सुत्केरीलाई श्रीमान्ले समेत छुन्नन् । जतिबेला सबैभन्दा धेरै माया र हेरचाह गर्नुपर्ने हो, त्यतिबेलै सुत्केरीसँग टाढा भाग्छन् उनीहरू । त्यस्ता मानिससँग कैयौंपटक मेरो झगडा नै परेको छ', डा. अवस्थीले भन्नुभयो, 'हाम्रा स्वास्थ्यकर्मी एक्लै हुन्छन् । परिवारका सदस्यले बच्चा र सुत्केरीलाई छुन नमान्दा बच्चालाई न्यानो लुगा लगाउँदा, सफा गर्दा, आमाको दूध खुवाउँदा सहयोग गर्ने कोही हुन्नन् ।'

छोरी हुँदा झनै यातना

बैतडीकै श्रीकोटकी पार्वती ठगुन्ना छोराका लागि २७ वर्षको उमेरमा १० पटकसम्म गर्भवती बनिसक्नुभएको छ । छोरी मात्रै जन्माउँदा परिवारले आफूलाई दूधसमेत खुवाउन नदिएको ठगुन्नाको गुनासो छ । सुत्केरी हुँदा कैयौं रात भोकै बस्नुपरेको र राम्रो सुत्ने ठाउँ नहुँदा बिरामी परेको उहाँको भनाइ छ । गर्भवती भएको ६ महिनापछि उहाँले छोएको पानी परिवारलाई चल्दैन । घन्टौं एक्लै छट्पटाएर पार्वतीले छोरीहरूलाई जन्माउनुभएको छ । 'गर्भवती र सुत्केरी हुँदा हीनताबोध हुन्छ परिवारको व्यवहारले । कहिलेकाहीँ त भीरबाट फालहालुँजस्तो लाग्छ,' पार्वतीले भन्नुभयो ।

स्वास्थ्यकर्मीमाथि पनि विभेद

सुत्केरीलाई छुनुपर्ने डरले अधिकांश परिवार 'बर्थिङ सेन्टर' सम्म पनि लैजाँदैनन् । लग्नैपर्ने भयो भने स्वास्थ्यकर्मीको जिम्मा लगाएर कुलेलम ठोक्छन् । कतिपयले त अस्पतालमा बच्चा जन्माउन सहयोग गर्ने स्वास्थ्यकर्मीलाई सम्म छुँदैनन् । जिल्लाको महाकाली स्वास्थ्यचौकी इन्चार्ज पूर्णबहादुर बरालीले सधैँजसो छुवाछुतको सामना गर्नुपरेको छ । 'व्यथा लागेपछि गर्भवती एक्लै झोला बोकेर अस्पताल आउँछन्, त्यो पनि घन्टौं हिँडेर, सुत्केरीलाई छुनुपर्छ भन्ने डरले परिवारका कोही पनि आउँदैनन् । घर जाँदा पनि बच्चा, झोला सबै बोकेर कमजोर बनेकी सुत्केरीलाई एक्लै पठाउँदा हामीलाई नराम्रो लाग्छ ।'

भयमा महिला

सुत्केरी भएपछि पाउने यातनाले आजित भए पनि यहाँका महिला त्यसको विरोधमा उत्रिन सक्दैनन् । विरोध गर्‍यो भने उल्टै परिवारबाट निकालिने, अपहेलित हुने वा श्रीमानले अर्को विवाह गर्ने भय उनीहरूमा छ । देवकी आफूमाथिको विभेदविरुद्ध उभिन नसक्ने बताउनुहुन्छ । 'सबैले देउता रिसाउँछन् भनेको सुन्दा आफूलाई पनि त्यस्तै हो कि झैं लाग्छ', देवकी भन्नुहुन्छ ।

स्थानीय महिला अधिकारकर्मी देवु ठगुन्नाले यस्तो यातना महिला आफैँलाई सहने बानी पर्दा अन्त्य हुन नसकेको बताउनुहुन्छ । 'यहाँ हरेक घरका एक जना सदस्य धामी हुने चलन छ । गर्भवती वा सुत्केरीमाथि हुने विभेदविरुद्ध तिनै महिला बोल्न सक्दैनन् । चुप बस्नुपर्ने बाध्यता छ उनीहरूको,' देवुले भन्नुभयो ।

चेतना अभाव

सुदूरपश्चिममा अधिकांश जिल्लामा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा सरकारी र गैरसरकारी संस्थाका दर्जन बढी चेतनामूलक कार्यक्रम सञ्चालित छन् । ती कार्यक्रमको पहुँचमा यस्ता परिवार पुग्न सकेका छैनन् । डा. अवस्थी दीर्घकालीन प्रभाव पार्ने गरी कार्यक्रम सञ्चालन हुन नसक्दा र विद्यालय तहमा प्रजनन स्वास्थ्यबारे अध्ययन नहुँदा यस्तो यातना कायम रहेको बताउनुहुन्छ । -अन्नपुर्ण पोष्ट दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!