यसरी सुध्रिदैंछ बैतडी स्वराडीको जिवनशैली

Posted on: 21 Sep, 2017

नरी बडु/असोज ३, बैतडी । केहि वर्ष अगाडी झट्ट सुन्दा बैतडीको स्वराड क्षेत्र अभावग्रस्त क्षेत्र हो भन्ने बुझिन्थ्यो । तर पछिल्लो समय स्वराडको त्यो अवस्था फेरिएको छ । स्वराडका गाँउमा सडक पुगेपछि बिस्तारले पछिल्ला २ बर्षमा स्वराड क्षेत्रको अभाव हट्दै सर्वसाधारणको जीवनशैली पनि फेरिन थालेको छ ।

 बैतडीको शिवनाथ गाउपालिका केन्द्र सुल्लेखान बजारमा यात्रु पर्खिएको गाडी । तस्बिर: नरी बडु, बैतडी, सास 

पहिले सदरमुकाम आउन स्वराड वासीले ३ दिनेको पैदल बाटो हिड्नुपर्ने हुन्थ्यो । तर आजभोलि सदरमुकाम आउन ३ दिनको बाटो तय गर्ने अवस्था छैन । नूनतेल किन्न डुंगामा उर्लदो महाकाली तरेर भारतीय बजार धाउनेको संख्या पनि तुलनात्मक रुपमा घटेको छ तर नेपाली समान महंगो हुने भएकाले स्वाराड बासीले डुङ्गा तरेर भारत जान भने छोडेका छैनन् । अहिले स्वराडका गाँउ गाँउमा बजार बिस्तार हुदा यात्रु र उपभोक्तालाई सहज भएको छ ।  

स्वराड क्षेत्रका १ नगरपालिका र २ गाउपालिकाका बडा बडामा सडक बिस्तार हुन थालेको छ । यो क्षेत्र जोड्ने पाटन पञ्चेश्वर सडक मेलौली नगरपालिका हुदै शिवनाथ र पञ्चेश्वर गाउपालिकाको कुलाव पुगेको छ । पञ्चेश्वर परियोजना निर्माणस्थल पुग्ने उक्त सडकको ट्रयाक खुलेसंगै गाउ गाउमा सडक सञ्जाल बिस्तार हुन थालेको छ । मेलौली नगरपालिकाको लामालेकबाट महारुद्र र पञ्चेश्वर गाउपालिका केन्द्र आम्चौरा जोड्ने सडक निर्माणाधीन छ ।  

साविकका १२ गाविस जोड्न ९ सडक निर्माणाधीन छन् । शिवनाथ गाउपालिका २ शर्मालीको महाकाली नदी किनारसम्म सडक पुगेको छ । उदयदेव र बिशालपुरसम्म ग्रामीण सडकको ट्रयाक खुलेको छ । शिवनाथ गाउपालिकाको केन्द्र सुल्लेखान हुदै कुलावसम्म बर्खा बाहेक जीप सेवा नियमित भएको छ । दशरथचन्द नगरपालिकाको देहिमाण्डौंदखि ग्वाल्लेक हुदै पचेश्वरको रोडिदेवल जाने सडक गिरेगाडासम्म नियमित छ । 

सबैजसो बडाका बासिन्दा डेढघण्टा भित्र यातायातको पहुचमा आएको स्थानीय बताउछन् । ‘नदी किनार नजिक बस्ती बाहेक डेढघण्टामा सडक पुगिन्छ ।’ पञ्चेश्वर गाउपालिका ३ राजेन्द्रसिंह धामीले भने, ‘भारतीय बजार नगई नहुने अवस्था छैन, उपभोग्य बस्तु पाउन सहज भएको छ ।’ सडक किनारका ठाउ ठाउमा बजार बिस्तार हुन थालेको छ । सलाई र नून किन्न घण्टौं हिडेर पसलमा पुग्ने बाध्यता हटेको छ । सडक छेउमा होटल र पसलहरु बढेका छन् ।

यो बर्ष स्थानीय तहले सडक बिस्तार र सुधारलाई प्राथमिकता दिएका छन् । नगरपालिका र गाउपालिकाको बजेटसंगै बडा कार्यालयले मुख्य योजनाको रुपमा सडक राखेको पञ्चेश्वर गाउपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘यातायातको सुविधा नहुदा अन्य विकास प्रभावित भएको हो, आउदो बर्षसम्म सबै बस्तीमा सडक पुर्याउने योजना छ ।’ चन्दले भने, ‘नजिक सडक पुगेपछि दैनिकी फेरिएको छ ।’

दैनिक उपभोग्य बस्तु ल्याउन दिनहु भारत जानेको संख्या घटेको छ । महाकाली छेउमै बसोबास भएका बाहेक माथिल्लो बस्तीका सर्वसाधारणले भारत जान छाडेको स्थानीय बताउछन् । बर्खामा डुंगा बन्द भएका बेलासमेत अघिल्लोबर्षसम्म ज्यान जोखिममा राखेर वारपार गर्थे । यो बर्खामा लामो समय सडक अवरुद्ध नहुदा भारतीय बजार जाने थोरै रहेको तारउतारमा संलग्नहरु बताउछन् । 

मेलौली र महाकालीघाटबाट खच्चरमा चर्को भाडा तिर्न बाध्य सर्वसाधारणलाई गाउ छेउमै खाद्यान्न पाउन थालेका छन् । गाउका ब्यापारीको सामान ढुवानी गरेर महिला र बालवालिकाले आम्दानी गर्न थालेका छन् । कृषकहरुले तरकारी र मासुजन्य बस्तुको उत्पादनमा केन्द्रित भएका छन् । तरकारी बिक्न थालेपछि पोलिहाउस बनाएर ब्यवसायिक खेती सुरु गरेको मेलौली ७ का कृषक लक्ष्मण ओझाले बताए । ‘अघिल्लो बर्षसम्म तरकारी बेच्ने ठाउ थिएन, अहिले घरमै आएर अर्डर गर्छन् ।’ ओझाले भने, ‘तरकारी र बाख्राको ब्यापार बढेकाले कृषकले उत्पादन बढाउन थालेका छन् ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!