बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’

Posted on: 02 Nov, 2017

कात्तिक १६, बैतडी । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार बैतडी जिल्लाभरि रहेका छ महिनादेखि ५९ महिनासम्मका २३ हजार ९७७ बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागिएको हो । 

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

बच्चाको पेटमा जुका परेपछि रक्तअल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ‘ए’ को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बच्चालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागेको हो । 

बैतडीमा यसका लागि जिल्लाभरिका ८३१ महिला स्वयमंसेविका परिचालन गरिने भएको छ । महिला स्वयंसेविकाले प्रत्येक स्थानीय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट औषधि खुवाउने जनाइएको छ । 

नजिकैको वडा कार्यालय वा भिटामिन ‘ए’ खुवाउने केन्द्र वा महिला स्वयंसेविकासँग सम्पर्क राखी भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले अनुरोध गरेको छ । 

सरकारले वर्षको दुईपटक खुवाउँदै आएको भिटामिन ‘ए’ यस वर्ष कात्तिक २ र ३ गते दीपावली पर्न गएको हुँदा कात्तिक १६ र १७ मा भिटामिन ‘ए’ खुवाइन लागिएको हो । 

हरेक छ/छ महिनामा अर्थात् वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै आएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!