झुलाघाटमा पक्की पुल नहुँदा बैतडीसहित ४ जिल्ला समस्यामा

Posted on: 15 Aug, 2018

विनोदसिंह विष्ट | साउन ३०, बैतडी | भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल नहुँदा बैतडीसहित प्रदेश ७ को आर्थिक समृद्धिमा बाधा पुगेको छ । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा समस्या हुने गरेको छ । झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रका धेरै पर्यटक बैतडी आउन चाहे पनि सीमाक्षेत्रमा पक्की पुल नहुँदा उनीहरूलाई भित्र्याउन सकिएको छैन ।” 

झुलाघाट भारतसँग सीमा जोडिएको नाम चलेको पुरानो नाका हो । प्रदेश ७ का पहाडी जिल्लाबाट भारत जाने प्रमुख नाकाको रुपमा समेत चिनिने गरिएको छ । झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको स्थानीय कैलाश जोशीको भनाइ रहेको छ । 

झुलाघाटमा पक्की पुल बनाउने बिषयमा अहिलेसम्मका सरकारले आश्वासन दिएको भए पनि पूरा भने कसैले गर्न सकेका छैनन् । झुलाघाटमा करीब डेढ सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ । उक्त पुल जीर्ण अवस्थामा रहेको छ । भारत भ्रमणको एजेन्डामा पनि नेपालको तर्फबाट झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरेको भएपनि पक्की पुल नभएकै कारण करोडौंको व्यापार घाटा व्यहोरिरहेका यहाँका व्यवसायीको भनाइ छ । 

झुलाघाटमा पक्की पुल नहुँदा नेपालमा उत्पादित तरकारी, महलगायतका वस्तुहरु निर्यात गर्न कठिनाइ भएको लघु उद्यमी समूह सङ्घ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “झुलाघाटमा पक्की पुल नभएका कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको छ ।” यो पुल निर्माण भएपछि नेपालसँग मित्रता अझ प्रगाढ हुन्छ भारतीय सञ्चारकर्मी राजेश पञ्गरीयाको भनाइ रहेको छ । यो झोलुंगे पुल मात्र नभइ दुई देशको सम्बन्ध जोड्ने पुल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्की पुल त टाढाको विषय भयो पुल जीर्णोद्वारका विषयमा समेत चासो दिइएको छैन ।” 

झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि सरकारले तदारुकता नदेखाउँदा समस्या भएको हो । झुलाघाट नाकामा पुल निर्माणका लागि ०५५ सालदेखि सर्भे मात्रै हुने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन् । सर्भेअनुसार भारत जोड्ने पुलको लम्बाइ ९० मिटर छ । विसं ०५६ मा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि रु ६ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको थियो । 

पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारत जाने गर्छन् । सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहँुदा बिरामीलाई उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । 

पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नबन्दा झुलाघाट पक्की पुल निर्माणको विषय पनि अन्योलमा परेको बैतडी प्रदेश ‘ख’ का सांसद लिलाधर भट्टले बताउनुभयो । झुलाघाट पञ्चेश्वरको प्रभावित क्षेत्रमा पर्दछ उहाँले भन्नुभयो, “पञ्चेश्वर बहुद्देश्यीय आयोजना बन्ने भएपछि झुलाघाटमा पुल बन्न असम्भव छ ।” पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको प्रभावित क्षेत्रमा ठूला संरचना निर्माण नगरिने बताइएको छ । 

पाटन–मेलौली बस सेवा बन्द 

केही दिनदेखिको लगातारको बर्षाका बैतडीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सिल्लेगडा–कटौजपानी सडकखण्ड र मिन्नोलाको ठाउँठाउँमा पहिरो खस्दा १५ दिनदेखि सडक अवरुद्ध बनेको हो । महाकाली यातायातका सिल्लेगडाका बुकिङ कलर्क दशरथ चन्दले जानकारी दिनुभयो । उक्त सडक स्तरोन्नतिको काम हुँदा हिलाम्मे भएको उहाँले बताउनुभयो । 

मेलौलीदेखि शर्माली तथा पञ्चेश्वर सडक पनि हिलाम्मे हुँदा १५ दिनदेखि सवारी साधन चलाउन नसकिएको जीप सञ्चालक वीरेन्द्र महताले जानकारी दिनुभयो । पाटनदेखि मेलौलीसम्म जीप सञ्चालनमा रहेको भएपनि मेलौलीभन्दा तल जीप सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । 

सतबाँझ–श्रीभावर सडकमा पनि विगत ५ दिनदिनदेखि जीप सञ्चालनमा नआएका महाकाली यातायात सतबाँझका बुकिङ कलर्क कर्णबहादुर पाण्डेयले जानकारी दिनुभयो । लगातारको बर्षाले सडक हिलाम्मे हुँदा जीप सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । हिलाम्मे सडक त्यसैमा ट्याक्टर सञ्चालनमा हँुदा झनै समस्या हुने गरेको उहाँले बताउनुभयो । 

देहीमाडौँ–गिरेगडा सडकखण्डमा सवारी साधान सञ्चालनमा रहेको भए पनि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बैतडीका अधिकांश सडक पानी पर्दा बन्द हुने गरेका छन् । जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर –कुवाकोट, सतबाँझ–श्रीभावर, देहीमाडौँ–गिरेगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाललगायतका सडकमा बर्खाको समयमा गाडी चलाउन निकै समस्या हुने गरेको व्यवसायीले बताएका छन् । 

पाटन–पञ्चेश्वर सडक स्तारोन्नति तथा कालोपत्रेको काम हुँदा सवारी साधन सञ्चालन गर्न अप्ठ्यारो भएको छ । स्तरोन्नतिको काम तथा वर्षाले सडक हिलाम्मे हुने गरेको छ । महेन्द्रनगरदेखि मैलौलीसम्म दैनिक तीन बस सञ्चालनमा रहेका थिए । साउन पहिलो हप्तादेखि सेवा बन्द हुँदा यात्रुलाई समस्या भएको मेलौलीका स्थानीय सुरत पार्कीले बताउनुभयो । उक्त सडकखण्डका हाल करीब दुई दर्जन जीप सञ्चालनमा रहेका भए पनि बर्खाको समयमा सडक हिलाम्मे हँुदा जीपको यात्रासमेत जोखिमपूर्ण हुने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!