प्रविधिमैत्री बन्दै बैतडीको दोगडाकेदारका विद्यालय

Posted on: 20 Aug, 2018

भदौ ४, बैतडी | शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ । 

गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको अध्यक्ष चक्र कार्कीले बताउनुभयो । हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली मावि दोली, श्रीकेदार मावि पिपलकोट गरी चार विद्यालयमा हाजिरी र इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । अन्य ६ विद्यालयमा विद्युतीय हाजिरी र इन्टरनेट जडानलाई निरन्तरता दिने भएको छ । 

बाँकी विद्यालयमा विद्युत्लगायतको समस्या भएकाले जडान गर्न नसकिएको अध्यक्ष कार्कीले बताउनुभयो । गाउँपालिकाले गतवर्ष नै आफ्नो निकायभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा इन्टरनेट र ई–हाजिरी जडान गर्ने कार्यक्रम थियो । इन्टरनेट जडान गर्न विद्यालयलाई ५० हजारदेखि एक लाख ५० हजारसम्म रकम विनियोजन गरेको दोगडाकेदार गाउँपालिकाको कार्यालयले जनाएको छ । विद्यालयमा विद्युतीय हाजिरीले शिक्षकको नियमितता बढेको, इन्टरनेट र प्रोजेक्टर जडान गरेपछि विद्यार्थीलाई पठनपाठन गर्न सजिलो भएको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिनुभयो । इन्टरनेट जडानले एसइई लगायतका परीक्षाफल हेर्न सजिलो भएको छ । उहाँले भन्नुभयो,“प्रोजेक्टरको माध्यमबाट पढाइ गर्दा पठनपाठनमा सुधार हुँदै गएको छ”। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!