बैतडीमा सशस्त्र प्रहरीको गुल्म स्थापना

Posted on: 06 Oct, 2018

असोज २०, बैतडी | सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार बैतडीमा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको छ । 

शान्ति, सुरक्षा र सीमा अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं ५१ कार्यालय रूपमा गुल्म स्थापना गरिएको हो । सरकारले गत साउनमा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा सदरमुकामस्थित गढीमा गुल्म हेडक्वाटरको नं ५१ कार्यालय स्थापना भएको छ । 

गुल्मले जिल्लामा शान्ति, सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायहरूसँग मिलेर काम गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त पन्तले बताउनुभयो । गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनशक्ति रहने भएको छ । अर्को व्यवस्था नहुँदासम्म सशस्त्र प्रहरी अहिले साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा बसिरहेको छ । 

कार्यालय स्थापना भएसँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुलदङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागूऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय हुने जनाइएको छ । 

सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, सीमारक्षा गर्ने उद्देश्यसहित सशस्त्र प्रहरीको गुल्म स्थापना भएको गुल्मले सीमा क्षेत्रको रक्षाको म्याडेण्ड पनि सशस्त्र प्रहरीले पाएकाले पछि सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!