बैतडीका पाँच स्थानीय तह अझै बिजुलीविहीन

Posted on: 16 Jan, 2019

माघ २, बैतडी | बैतडीका पाँच स्थानीय तहमा अझै बिजुली पुगेको छैन । पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत् विस्तार भएको छैन् । 

यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत् सेवाबाट वञ्चित छन् । सोलारको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको र अरु कार्यालयका काम पनि प्रभावित भएका उहाँले बताउनुभयो । 

मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताउनुभयो । पुर्चौँडी नगरपालिकावासी बेलाबेला विद्युत्कै कारण सञ्चार सेवाबाट वञ्चित हुने गरेको स्थानीयवासीले बताएका छन् । नेपाल टेलिकमको टावरसमेत सोलारकै भरमा चलिरहेको छ । घाम नलागे त्यसले काम नगर्ने र टेलिफोन पनि नचल्ने बताइएको छ । नगरपालिकामा विद्युत् सेवा नहुँदा स्वास्थ्य सेवासमेत प्रभावित भएको पुर्चाैँडीका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताउनुभयो । 

पञ्चेश्वर गाउँपालिकामा पनि सोलारबाट विद्युतीय कामकाज हुने गरेको छ । कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्पयुटर खुल्छ, पानी परेको बेला सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताउनुभयो । विद्युतीय उपकरणबाटै कामकाज गर्नुपर्ने भएकाले सोलारबाटै धान्न सक्दैन उहाँले भन्नुभयो । 

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार १९१ घरधुरी छन् । तीमध्ये साढे १२ हजारमा मात्रै बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । जिल्लाका केही ठाउँमा विद्युत् विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!