बैतडीका खेतीयोग्य जमीनमा सिँचाइ अभाव

Posted on: 16 Jan, 2019

विनोदसिंह विष्ट | माघ २, बैतडी | बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् । 

सिँचाइ सुविधा नभएका कारण यहाँका धेरैजसो किसान आकाशे पानीको भरमा वर्षा याममा मात्र खेती गर्ने गरेका छन् । भिरालो जमीनमा ओसिलो पन नहुँदा लगाएको सबै अन्नबाली सुक्ने भन्दै हिउँदे याममा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । हिउँदको समयमा खडेरी पर्दा किसान जमीन बाँझै छोड्न बाध्य भएका हुन् । 

केहीले व्यक्तिगत रुपमा पाइप खरीद गरी सिँचाइ गरे पनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहने गरेका छन् । आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेका छन् । सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबालीसमेत लगाउने गरेका छन् । आर्थिक आम्दानीको स्रोत बढ्ने भएकोले किसानहरु सिंचाई सुविधा भएका ठाउँमा बेमौसमी तरकारीखेतीतर्फ आकर्षित हुन थालेका हुन् । 

जमीन पर्याप्त भए पनि कतिपय ठाउँमा सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ । आकाशे पानीको भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेका हुन् । 

जिल्लाका सिँचाइ नभएका ठाउँमा खडेरीले बढी प्रभाव पार्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । जिल्लामा २५ हजार ५०० हेक्टर खेती योग्य जमीन भए पनि त्योमध्ये १० हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको उहाँले बताउनुभयो । खडेरीका कारण उत्पादनमा कमी आएपछि तराईबाट आयात हुने खाद्यान्नमा समेत वृद्धि भएको छ । 

खडेरीको विकल्प खोजिँदै 

खडेरीले खेत बाँझै हुन थालेपछि विकल्पमा आयआर्जनमा समेत टेवा पुग्ने भएकाले फलफूल खेती गरिन थालिएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाले किसानलाई फलफूलका बिरुवा वितरण गर्न थालेको छ । किसानलाई फलफूलबाट आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलका बिरुवा वितरण गर्ने कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । 

प्रतिकिसान २० बिरुवाका दरले हिउँदे फलफूलका बिरुवा वितरण गर्न थालिएको छ । ओखर, आरुबखडा, आरुलगायतका १० हजार बिरुवा वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । फलफूल खेतीबाट तत्कालै फाइदा लिन नसकिए पनि दीर्घकालीन रुपमा फाइदा हुने भएकाले आफूहरुले निःशुल्क रुपमा फलफूलका बिरुवा वितरण गर्न थालेको जनाइएको छ । 

पछिल्लो समयमा खडेरीका कारण किसानले खेतीपातीसमेत लगाउन नसकेकाले खडेरीको विकल्पको रुपमा समेत फलफूल बगैँचा हुन सक्ने अध्यक्ष चन्दको भनाइ थियो । यो सिजनमा हिउँदे फलफूलका बिरुवा वितरण गरिरहेको गाउँपालिकाले वर्षात्को समयमा बर्खे फलफूलका बिरुवा वितरण गर्ने जनाएको छ । व्यावसायिक रुपमा फलफूल खेती गर्नसके किसान आत्मनिर्भर बन्न सक्ने सुक्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!