बैतडीलगायत सुदुरपश्चिममा विसु पर्व: बिशुको दिन सिस्नु लगाउनै पर्ने !

Posted on: 14 Apr, 2019

कृष्ण बिष्ट | वैशाख १, बैतडी | आज नयाँ वर्षको पहिलो दिन बैतडीलगायत  सुदुरपश्चिममा विसु पर्व धुमधाम संग मनाइएको  छ । साथिभाइ  इष्टमित्र लगायत आफन्तसँग एकआपसमा खुसीयालि साटासाट गरेर नयाँ वर्षको पहिलो दिन बिसु पर्व धुमधामका साथ मनाइएको  हो ।  विशु पर्व विशेषगरी सुदुरपश्चिमका सबै जिल्लामा मनाउने गरिन्छ ।

देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर विशु पर्व मनाइन्छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छाला सम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । 


देवर र नन्द नाता नपर्ने वा भाउजू तथा भिनाजु नाता नपर्नेले बिसु पर्व अर्थात आजको दिनमा आफैले भए पनि शरिरमा सिस्नो लगाउनु पर्ने परम्परा अनुसार आज विशु पर्व मनाइएको सस्कृतीका जानकार लबदेब भट्टले  बताउनुभयो । 

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । आज विशुपपर्वको दिन  मिठामिठा खानाका परीकार बनाइ विशेष गरेर सिस्नु लगाएर  विशु मनाएको स्थानिय राजमति भट्टले  बताउनुभयो । 


तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको पाटन का स्थानिय सिद्धराज भट्टले बताउनुभयो  । 

सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु विशे्ष पहाडी जिल्लामा बढी मनाइने पछिल्लोसमय पहाडबाट बसाइँ सर्नेक्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्वको रौनकता मौलाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!