बैतडीमा आगोले जलेर एकै घरका तीन जनाको मृत्यु

Posted on: 23 May, 2019

जेठ ९, बैतडी । बैतडीमा बुधबार गएराति आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । 

पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए । गएराति  खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मजदूरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको सात वर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!