बैतडीमा बनजंगल फडानी रोकिएन

Posted on: 27 Jun, 2019

 असार १२, काठमाडौँ | बैतडीका सल्लेरी वन मासिँदै गएका छन् । व्यापकरुपमा खोटो सङ्कलन भइरहेकाले सल्लेरी वन मासिने क्रम बढ्दै गएको हो । जिल्लामा रहेका ३५७ वटा सामुदायिक वनमध्ये अधिकांशमा सल्लाको वन रहेका छन् । 

सल्लेरी वनमा खोटो सङ्कलन भइरहेकाले ती वनमा आगलागीको सम्भावना पनि बढिरहेको सिगास गाउँपालिका–१ का केशवदत्त जोशीले बताउनुभयो ।  “सामुदायिक वनले तत्कालको फाइदा हेर्दा सल्लेरी वन मासिँदै गएका हुन्”,उहाँले भन्नुभयो, “दिगो वन व्यवस्थापनका उपाय नअपनाएरै खोटो सङ्कलन भइरहेकाले वन मासिँदै गएका छन् ।” 

खोटो सङ्कलनले रुखको आयु कम हुने गरेको अर्का स्थानीय राम विष्टले बताउनुभयो । “खोटो मात्रै सङ्कलन हुन्छ, वृक्षरोपणको काम हुँदैन”,उहाँले भन्नुभयो, “खोटो सङ्कलनले तत्काल आर्थिक फाइदा भए पनि भोलिका दिनमा समस्या निम्त्याउने देखिन्छ ।” 

बैतडीमा चार वटा कम्पनीले विभिन्न वनमा खोटो सङ्कलन गरिरहेका डिभिजन वन कार्यालयका सूचना अधिकारी रामप्रसाद चौधरीले बताउनुभयो । खोटो सङ्कलनले केही समस्या भए पनि वन मासिने कुरा नभएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, “मापदण्डअनुसार खोटो सङ्कलन गरेमा वन विनाश हुँदैन ।” बैतडीको कूल एक लाख ४८ हजार ३७८ हेक्टर जमीनमध्ये ५८ प्रतिशत जमीनमा वन क्षेत्र रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!