खोचलेक–रिम सडकले आधादर्जन घर जोखिममा

Posted on: 12 Aug, 2019

साउन २७, बैतडी । बैतडीका विभिन्न क्षेत्रमा खनिएका ग्रामीण सडकले पहिरोको जोखिम बढाएको छ ।  बिना अध्ययन खनिएका सडकले स्थानीयबासिन्दा बढी जोखिममा परेका छन् । 

बैतडी दोगडाकेदार गाउँपालिकाको दुर्गम वडा नं–१ रिममा खनिएको सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका छन् । दोगडाकेदार गाउँपालिकाको खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका हुन् । 

रु एक करोड बढी रकम खर्चेर गतवर्ष निर्माण  गरिएको उक्त सडकले वर्षा शुरु भएसँगै पहिरोको जोखिम बढाएको छ । दोगडाकेदार गाउँपालिका–१ भुल्गाउँका छ घर पहिरोको जोखिममा परेको वडाध्यक्ष ध्वजबहादुर कार्कीले जानकारी दिनुभयो । परमले भुल, मन्धिरे भुल, चिउचे भुल, गोविन्द भुल, पत्या भुल र फुत्ते भुलको घर पहिरोको जोखिममा परेका उहाँले बताउनुभयो ।

घरमुनिबाट सडक खनिएकाले घरहरु पहिरोको जोखिममा परेका हुन् । सडक निर्माणले पहिरोको जोखिममा परेकाले उनीहरु जोखिममै रहेका घरमा बस्न बाध्य भएका छन् ।

जोखिममा रहेको घरपरिवारका सदस्य दिनमा घरबाहिर बस्ने भए पनि रातको समयमा पालैपालो गरेर सुत्ने गरेका छन् । पहिलो पटक सडक पुग्दा खुशी भएका त्यस क्षेत्रका नागरिक वर्षा शुरु भएसँगै पहिरो जान थालेपछि चिन्तित बनेका छन् ।

उनीहरुले गाउँपालिकालाई सुरक्षित वासस्थानको लागि आग्रहसमेत गरेका छन् । यस्तै दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित डाङ–कपडा सडकले पनि क्षति पु¥याएको छ । 

यता गाउँपालिका अध्यक्ष चक्र कार्कीले भने सडकले क्षति पु¥याएको भए पनि सडक मर्मतसम्भारको काम तत्काल हुन नसक्ने बताउनुभयो ।

वर्षा सकिएपछि मात्रै मर्मतसम्भारको काम हुने भन्दै उहाँले सामान्य पहिरोको जोखिममा परेकाका लागि गाउँपालिकाबाट कुनै योजना नरहेको बताउनुभयो ।

घरनै पहिरोेले क्षति पु¥याए र अन्य कुनै ठूलो क्षति भए गाउँपालिकाले सुरक्षित बासस्थान तथा राहत दिनसक्ने अध्यक्ष कार्कीकोे भनाइ छ । 

खोचलेक–मल्लाढिक–सित्तड–रिम सडक दोगडाकेदार गाउँपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारको रु एक करोड बढी लागतमा निर्माण गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!