भवन नहुँदा सेवा प्रवाहमा समस्या

Posted on: 19 Oct, 2019

कात्तिक २, बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको अढाइ वर्ष बित्दा पनि आफ्ना भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहले भाडाकै भवनबाट सेवा दिइरहेका छन् । भाडाका भवन सोचेअनुसारका नपाइने हुनाले सेवाप्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । विद्यालयको भवन मर्मत गरेर कार्यालय सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । भवन अभावमा गाउँपालिकाका सबै विषयगत शाखालाई व्यवस्थित गर्न नसकिएको उहाँको भनाइ छ । 

यस्तै डिलाशैनी गाउँपालिकाले वडा नं ३ पङसेरामा महादेव माविको भवन मर्मत गरेर सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको छ । केन्द्र तोकेको ठाउँमा भवन नहुँदा सम्पर्क कार्यालयबाट सेवा दिइरहेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो । 

सिगास गाउँपालिकाको केन्द्र गर्जेमा भाडामा समेत भवन नपाउँदा गाउँपालिका आफैँले भवन निर्माण गरिरहेको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिनुभयो । एकतला निर्माण गरेर कार्यालय सञ्चालन गरिएको र अर्को तला निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो ।

यस्तै पुरचौडी नगरपालिकामा पनि भवन अभाव छ । भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको जनाइएको छ । पञ्चेश्वर गाउँपालिकामा पनि आफ्नै भवन नहुँदा समस्या रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाले पनि क्याम्पसको भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!