बैतडीमा २१६ थान हतियार सङ्कलन

Posted on: 14 Dec, 2019

मङ्सिर २८, काठमाडौँ | प्रहरीले २१६ थान हातहतियार सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सो सङ्ख्यामा हातहतियार सङ्कलन गरिएको हो । 

यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार सङ्कलन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । उपनिर्वाचनको समयमा ४८ हतियार र १६४ थान हतियार उपनिर्वाचनभन्दा अघि नै सङ्कलन भएका उहाँले बताउनुभयो । सङ्कलित हतियार बढीजसो एकनाले भरुवा बन्दुक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

साथै दुईनाले भरुवा बन्दुक र बारबोर पनि सङ्कलन भएका छन् । सङ्कलित भएका सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेका जनाइएको छ । हतियार सङ्कलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउनाका साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय बताउनुभयो ।  

अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध–अवैध हतियार बुझाउन आग्रह गरेकोे प्रजिअ आनन्द पौडेलले बताउनुभयो । गृह मन्त्रालयले मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचन भएका जिल्लामा  मङ्सिर १० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!