शहिद दशरथको जन्मघर अब पाहुना घर,निशुल्क बास बस्न मिल्ने

Posted on: 30 Jan, 2020

माघ १६, बैतडी | शहिद चन्दको जन्म घरलाई पाहुना घर बनाइएको छ | बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको जीर्ण घरलाई सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले राष्ट्रिय प्रतिभा स्मारक कोष र दशरथचन्द नगरपालिकाको सहयोगमा मर्मतसम्भार गरेर बस्नयोग्य बनाएको हो |

घर ओरिपरी सरसफाई पारेर आगन फराकिलो र घरबाहिर दशरथको सालिक निर्माण गरिएको छ | घर जाने बाटोमा प्रवेशद्वार ,दशरथ जन्मिएको घरमा निःशुल्क बास बस्न मिल्ने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ |

 प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दका अनुसार २० लाखभन्दा बढी रकम खर्च गरेर उक्त घर निर्माण गरिएको छ | ‘बजेट अभावले अझै राम्रो व्यवस्थापन गर्न सकिएको छैन, केही काम गर्न बाँकी छ,’ उनले भने

नगरपालिकाले बजेट उपलब्ध गराएको थियो |

प्रतिष्ठानकै अग्रसरतामा सहिदको स्मृतिमा बैतडीमा विभिन्न काम हुँदै आएको छ | राजमार्गमा दशरथचन्द स्मृति प्रतीक्षालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए | दशरथको ‘उपनाम’ सुशील नामकरण गरेर स्मारिका प्रकाशन गर्न लागिएको उनले बताए |

सरोकारवाला निकायले दशरथ चन्दको ऐतिहासिक महत्त्व जोगाउन खासै चासो नदिएको प्रतिष्ठानका सदस्यहरू बताउँछन् | तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा दशरथलाई गोली हानेर मृत्युदण्ड दिएका थिए |

उनको जन्मघर भतिजाहरू भीमबहादुर र रामबहादुर चन्दको नाममा थियो | ०५१ सालमा सहिद दशरथ चन्द स्मृति प्रतिष्ठान गठन गरेर चन्द परिवारले घरजग्गा प्रतिष्ठानका नाममा गरिदिएका हुन् |- यो समाचार आजको कान्तिपुर दैनिकमा तृप्ति शाहीले लेखेकिछिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!