स्थानीय तहमा बढ्दो सतर्कता

Posted on: 25 Mar, 2020

चैत १२, बैतडी | विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न बैतडीका स्थानीय तहले पनि सतर्कता अपनाएका छन् । सङ्क्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्नेलगायतका कार्य भइरहेका छन् । 

गाउँगाउँमा गएर वडा कार्यालयले जनचेतनामूलक कार्यक्रम गरिरहेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।  मेलौली नगरपालिकाले पनि घरदैलोमै गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोलीले घरदैलोमै गएर जनचेतना जगाउने कार्य गरिरहेको मेलौली नगरपालिका–५ का वडाध्यक्ष बलभद्र दयालले बताउनुभयो ।  

दशरथचन्द नगरपालिकाले पनि वडास्तरबाटै जनचेतनामूलक कार्यक्रम अगाडि बढाएको उपप्रमुख मीना चन्दको भनाइ छ । वडा नं २ का वडाध्यक्ष रनबहादुर बोहराका अनुसार घरदैलोमै गएर सचेतनाका कार्यक्रम सञ्चालन भइरहेका छन् । वडाका सम्पूर्ण जनप्रतिनिधिको टोली घरदैलोमै पुगेर सचेतना फैलाउनाका साथै प्रतिपरिवार दुई वटाका दरले साबुनसमेत वितरण गरिएको छ । हात धुनका लागि उत्प्रेरणा मिलोस् भनेर साबुन वितरण गरिएको वडाध्यक्ष बोहराको भनाइ छ ।   

पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएका छन् । यसका साथै जिल्ला प्रहरी कार्यालयले पनि माइकिङबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । 

निंग्लाशैनी भगवती मन्दिरमा पशुबली नहुने

बैतडीको देहिमाडौँमा रहेको प्रसिद्ध निंग्लाशैनी भगवती मन्दिरमा यो वर्षको चैतेदशैँमा पशुबलि नहुने भएको छ । यसअघि दशरथचन्द नगरपालिका—२ को कार्यालय र निंग्लाशैनी भगवती धार्मिक सेवा समितिको चैत ९ गते बसेको बैठकले घटस्थापनादेखि बलि चढाउन सकिने निर्णय गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रन सक्ने भन्दै भीडभाडका कार्यक्रम नगर्न आग्रह गरेकाले राँगाको बलि स्थगित गरिएको वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो । 

जल्लामा कोरोना भाइरस भित्रिन्न नदिन जिल्ला प्रशासन कार्यालयलेले मङ्गलबारदेखि चैत १८ गतेसम्म लकडाउनसमेत घोषणा गरिसकेको छ । साथै मेला पर्व नमनाउन आग्रह गरेको छ भने सीमा नाका पनि बन्द गरिएका छन् । यस्तै मेलौली भगवती मन्दिरमा पनि नवरात्रिको बेला हुने पूजाआजाको कार्यक्रम नहुने जनाइएको छ ।  

पाटनमा ३४ बेडका आइसोलेसन केन्द्र

बैतडीको पाटन नगरपालिकाले ३४ बेडका चार छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ । पाटन नगरपालिका–६ मा रहेको विपद् व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय, वडा नं ४ भूमेश्वरमा रहेको भूमेश्वर माविमा १०÷१० श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएका  हुन् । 

यस्तै वडा नं। ३ को सिगास मावि गुरुडामा पनि चार श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।  कोरोना सम्भावित लक्षण देखिएका बिरामीलाई निगरानीमा राखी तत्कालका लागि उपचार गर्न श्ययाको स्थापना गरिएको उहाँले बताउनुभयो । पाटन नगरपालिकाले यसअघि पाटन, खोडपे र अनारखोलीमा हेल्थ डेस्क स्थापना गरेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!