सुदूरपश्चिमका नयाँ सङ्क्रमित सबै बैतडीका, एकै पालिकामा पाँच जना संक्रमित

Posted on: 24 May, 2020

विनोदसिंह विष्ट | जेठ ११, बैतडी | सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । सङ्क्रमितमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् । बाँकी नौ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । शनिबार थप चार जनामा पुष्टि भएको हो भने शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

शनिबार पुष्टि भएका सुदूरपश्चिमका सबै बैतडीका रहेका छन् । त्यसमा पनि सबै एउटै शिवनाथ गाउँपालिकाका रहेका जिल्ला अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबै चार जना जेठ ८ गते भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै फर्किएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । शिवनाथ गाउँपालिकाका २० वर्षीय दुई, २२ वर्षीय एक र २७ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि शुक्रबार सङ्क्रमण पुष्टि भएका बैतडीका युवकको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ती युवक कर्तव्य ज्यान मुद्दामा गएको वैशाख १५ देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । यसअघि सुदूरपश्चिममा शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टिनमारहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो ।  त्यसयता सुदूरपश्चिममा नयाँ सङ्क्रमित भेटिएका थिएनन् ।

सङ्क्रमित सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन

बैतडीका कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि धनगढी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रहरी हिरासतमै रहेका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ प्रहरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारी, जिल्ला अदालतमा कार्यरत १२ कर्मचारी र जिल्ला अस्पतालका एक चिकित्सकको स्वाब सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

यस्तै सङ्क्रमित युवक शिवनाथका भएकाले ती युवकको सम्पर्कमा आएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उनका आफन्त गरेर २२ जनाको स्वाब सङ्कलनका लागि भिटीएम पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो । उनीहरुको स्वाब सङ्कलन गरेर भोलि धनगढी पठाइने छ । थुनामा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलन गरिएको हो । ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब सङ्कलन गरिएको हो भने वयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीको पनि स्वाब सङ्कलन गरिएको हो ।

गाउँमा त्रास बढ्यो

बैतडीको एकै पालिकाका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयवासीमा कोरोनाको त्रास बढेको छ । भारतबाट फर्केकाहरुमा सङ्क्रमण पुष्टि भएकाले स्थानीयस्तरमा त्रास बढेको हो । अहिलेसम्म जिल्लाका पाँच जनामा कोरोना देखिएको र ती सबै शिवनाथ गाउँपालिकाका हुन् । शुक्रबार सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवक शिवनाथ गाउँपालिका–२ का हुन भने उनको स्वाब सङ्कलन गरेर बैतडीबाट धनगढी पठाएपछि कोरोना पुष्टि भएको हो । उनी अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा छन् । 

यस्तै शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका चार पनि बैतडीको शिवनाथ गाउँपालिकाकै हुन् । उनीहरु यसैसाता कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका हुन् । उनीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । शनिबार पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ । सङ्क्रमित युवकहरु बैतडी नआए पनि उनीहरुसँगै रहेका धेरै युवक बैतडी भित्रिएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिनुभयो ।

शनिबारसम्म ४७५ जना शिवनाथका मात्रै भित्रिएका छन् । उनीहरु सङ्क्रमितसँगै भारतको मुम्बई, नासिकलगायतका ठाउँबाट बैतडी भित्रिएको बुझिएको छ । गौरीफान्टा नाकाबाट बैतडीका धेरै नागरिक बिनापरीक्षण जिल्ला भित्रिएका छन् भने शुक्रबार झुलाघाट नाकाबाट पनि बैतडीका १६२ बिनापरीक्षण जिल्ला भित्रिएका छन् । भारतबाट फर्केका नागरिकको परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!