बैतडी कारागार सुरक्षाको जिम्मा सेनालाई

Posted on: 20 Jun, 2020

असार ६, बैतडी | कारागार कार्यालय बैतडीको सुरक्षामा शुक्रबारदेखि नेपाली सेना परिचालन गरिएकोे छ । कारागार र विकास आयोजनासहित महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयअनुसार नै सेनालाई परिचालन गरिएको बैतडीका  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।  

कारागार सुरक्षाको जिम्मा बैतडीमा रहेको हनुमानध्वज गुल्मका सेनालाई दिइएको हो । केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला कारागारको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय गरिएको थियो । यसअघि कारागारको सुरक्षा दिइरहेका नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रण क्षेत्रमा खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी बताउनुभयो ।  

नेपाल सरकारले अर्को व्यवस्था नगर्दासम्म जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रणको क्षेत्रमा परिचालन र सेनालाई कारागार र जलविद्युत्को क्षेत्रको सुरक्षालगायत महवपूर्ण प्रतिष्ठानमा पठाउने निर्यण यसअघि नै गरिसकेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!