पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

Posted on: 07 Aug, 2020

साउन २३, बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उहाँले बताउनुभयो । सोह् वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिनुभयो ।

घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ ।

मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छ्रैनन् । घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताउनुभयो । सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेका उहाँले बताउनुभयो । भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ । पहिरोले वर्षेनी खेतीयोग्य जमिन र धनजनमा समेत क्षति पुर्याउँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!