४७९ जनाले कोरोना जिते

Posted on: 21 Nov, 2020

मङ्सिर ६, बैतडी | बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।  

यस्तै दशरथचन्द नगरपालिकाका पनि ८२ जनामा सङ्क्रमण पुष्टि हुँदा ७४ ले कोरोना जितेका छन् । यसका साथै  पञ्चेश्वर गाउँपालिकाका ६२, सिगास गाउँपालिकाकाका ५५, शिवनाथ गाउँपालिकाका ५१, दोगडाकेदार गाउँपालिकाकाका ४८, मेलौली नगरपालिकाका ४७ जनाले पनि कोरोना जितेका छन् । सूर्नया गाउँपालिकाका ३५, पुर्चौडी नगरपालिकाका १९, डिलाशैनी गाउँपालिकाका १२ जना सङ्क्रमित डिस्चार्ज भएका बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो । 

जिल्लाको दशरथचन्द नगरपालिकामा आठ, पाटन नगरपालिकामा छ, सूर्नया गाउँपालिकाका चार, पञ्चेश्वर गाउँपालिकाका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् । शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिका भने कोरोनाका सक्रिय सङ्क्रमित शून्य भइसकेका छन् । हालसम्म बैतडीका छ हजार ४८२ को पिसिआर परीक्षण गरिएको छ । 

कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै 

तिहार सकिएलगत्तै कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ । दशैँ र तिहारका लागि घर फर्किएका बैतडीका नागरिक कार्यथलो फर्कन थालेका हुन् । जिल्लाका विभिन्न राजमार्गमा हाल सवारी साधन यात्रुको घुइँचो लाग्ने गरेको मुस्याचौरका व्यापारी मानबहादुर टेरले बताउनुभयो ।  कोरोना कहरका कारण विगतका वर्षहरुमा जस्तो भीडभाड नभए पनि फर्कनेको सङ्ख्या भने साधारण अवस्थाको भन्दा बढी रहेको  टेरको भनाइ छ । 

विभिन्न रोजगारीका सिलसिलामा रहेका तिहार सकिएलगत्तै आफ्नो कर्मथलो फर्किन थालेका हुन् । यसका साथै पढाइका लागि जिल्ला बाहिर रहेका पनि फर्करहेका हुन् ।  कोरोना कहरका कारण गत विगतको जस्तो दशैँ र तिहारको रौनक पनि नभएको उनीहरुको भनाइ रहेको छ । अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्डको पालना गर्दै यात्रा गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!