बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने

Posted on: 21 Nov, 2020

 मङ्सिर ६, बैतडी (रासस) । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । 

 यही मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागेका हौँ ।”   

जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको होे ।  कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्तिभरण बुझ्न पाएका छैनन् । यसअघि  तीन दिनका लागि नाका खोलिए पनि सबैले निवृत्तिभरण बुझ्न पाएका थिएनन् ।

नाका खुलेका समयमा निवृत्तिभरणधारीका साथै अत्यावश्यक र आकस्मिक काम परेकाले समेत आवतजावत गर्न पाउने सहायक प्रजिअ नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामका लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ ।”

जिल्लामा करीब एक हजार २००  भारतीय निवृत्तिभरणधारी  रहेको बताइएको छ ।  नाकामा निवृत्तिभरणधारीले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने  प्रशासनले जनाएको छ । निवृत्तिभरणधारीले दुई महिनाअघि नाका खोल्न आग्रह गरेका थिए । उनीहरुको अनुरोधमै नाका खोलिन लागिएको हो । उनीहरुले निवृत्तिभरणबापतको पैसा भारतीय बैंकमार्फत बुझ्ने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!