बैतडीमा जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते, दुई जनाको अवस्था गम्भीर

Posted on: 26 Apr, 2021

वैशाख १३, बैतडी । बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५:५० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जना सामान्य र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!