झुलाघाट नाकाबाट पाँच हजार नेपाली फिर्ता

Posted on: 18 Jun, 2021

असार ४, बैतडी (रासस) । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट साढे चार हजार नेपाली नागरिक स्वदेश फर्किएका छन् । गत वैशाखदेखि हालसम्म चार हजार ६२६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बैतडीका दुई हजार २४०, बझाङका एक हजार ६६१, डडेल्धुराका १०१, दार्चुलाका २७, डोटीका २५, अछामका पाँच तथा बाजुराका १२१ नेपाली झुलाघाट नाका भएर स्वदेश फर्किएका हुन् ।

यस्तै कैलालीका ५३, कञ्चनपुरका ३०, हुम्लाका ६४, मुगुका ६० र जुम्लाका ४० जना पनि झुलाघाट नाका भएर फर्किएको बताइएको छ । नेपाल भित्रिनेमा अधिकांश भारतमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भएपछि रोजगारी गुमाएर फर्किएका नागरिक छन् ।

भारतबाट फर्किरहेका नागरिकको सीमामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

नयाँ सङ्क्रमण हुनेको सङ्ख्या शून्य

बैतडीमा शुक्रबार नयाँ कोरोना सङ्क्रमण हुनेको सङ्ख्या शून्य रहेको छ । शुक्रबार गरिएको परीक्षणमा कुनै नागरिकमा पनि कोरोना नेदेखिएको हो । पछिल्लो २४ घण्टामा १०७ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता विनिता चौधरीले जानकारी दिनुभयो । बुधबार पनि ४४९ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । बैतडीमा परीक्षण तीव्ररूपमा भइरहेको छ । 

जिल्लामा सङ्क्रमण दर घट्दै गएको छ । अहिले बैतडीमा १३२ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १३१ जना बैतडीका रहेका छन् भने एक जना अन्य ठाउँका रहेका हुन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!