बैतडीमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

Posted on: 15 Jul, 2021

असार ३१, बैतडी (रासस)। जिल्ला प्रशासन कार्यालय बैतडीले गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्मका लागि थप गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । कोरोना भाइरस सङ्क्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 

निषेधाज्ञालाई केही खुकुलो पार्दै जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्डपालन गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आउन दिने निर्णय भएको छ । सार्वजनिक सवारी तथा निजी भाडाका गाडीमा सिट क्षमताको आधारमा यात्रु बोक्न पाइनेछ । यसअघि आधा सिट क्षमता मात्रै जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएकोमा साउन १ गतेदेखि पूर्ण सिट क्षमतामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउनेछन् । 

यस्तै रोजगारीका लागि भारत जाने नागरिकको सम्बन्धित स्थानीय तहले एन्टिजेन परीक्षण व्यवस्था मिलाउनुपर्ने निर्णयसमेत भएको छ । सबै कार्यालयको सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुनेछन् भने सबै प्रकारका पसल बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । 

विवाह व्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइनेछ ।  यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकूद गतिविधिमा भने रोक लगाइएको छ । कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा पहिलो पटक वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!