देहिमाडौँ उपप्रमुख कप क्रिकेट च्याम्पियन

Posted on: 10 Jun, 2019

जेठ २७, बैतडी | दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको यू–१९ उपप्रमुख कप टि–२० महिला क्रिकेट प्रतियोगितामा दशरथचन्द–२ देहिमाडौँ च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा साविक विजेता दशरथचन्द–६ थालिगडालाई चार विकेटले हराउँदै देहिमाडौँले उपाधि जितेको हो । 

उपाधिसँगै देहिमाडौँले रु ३० हजार पुरस्कार प्राप्त गर्यो । उप–विजेता थालिगडाले रु २५ हजार पुरस्कार प्राप्त गर्यो । निङ्गलाशैनी खेल मैदान देहिमाडौँमा टस हारेर थालिगडाले ब्याटिङ गरेको थियो । थालिगडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन बनायो । १८४ रनको लक्ष्य देहिमाडौँले १८ दशमलव तीन ओभरका छ विकेटको क्षतिमा पूरा गर्यो । देहिमाडौँका लागि मिना रावतले अविजित ७८ रन बनाइन् । 

बलिङतर्फ थालिगडाकी सुनिता लुहार र सपना ठगुन्नाले दुई/दुई विकेट लिइन् । यसअघि ब्याटिङ गर्दै थालिगडाका लागि कप्तान सुनिता लुहारले ७७ तथा दिव्या कार्कीले ५६ रन बनाइन् । बलिङतर्फ देहिमाडौँका बबिता बोहराले तीन विकेट लिइन् । प्लेयर अफ दी फाइनल देहिमाडौँकी मिना रावत भएको स्कोरर द्रोपती बोहराले जानकारी बताइन् । प्रतियोगिताभर १३५ रन तथा छ विकेट लिएकी थालिगडाका कप्तान सुनिता लुहार वुमन अफ दी सिरिज भइन् । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताभर १२३ रन बनाएकी थालिगडाकी दिव्या कार्की उत्कृष्ट ब्याट्सवुमन तथा नौ विकेट लिएकी देहिमाडौँकी बविता बोहरा उत्कृष्ट बलर भइन् । 

प्रतियोगिताका विजेता, उप–विजेता तथा उत्कृष्ट खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द, दशरथचन्द–२ का वडाध्यक्ष रनबहादुर बोहरा, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग र नगर क्रिकेट समितिको व्यवस्थापनमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!