डुग्रीखोलामा पुल बनाउन माग

Posted on: 05 Sep, 2021

भदौ २०, बझाङ | जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ । तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गर्नुभयो ।

सदरमुकाम चैनपुरबाट नजिकै भए पनि वर्षौँदेखि सो स्थानमा पुल नहुँदा बर्खाका समयमा दुःख झेल्दै आएको र उत्पादन भएका कृषि उपज वस्तु  बजारसम्म पुर्याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताउनुभयो । ती दुवै गाउँमा हालसम्म खानेपानी, विद्युत् र सडकको सुविधा समेत छैन  । उहाँले भन्नुभयो,“स्थानीयवासी खोलाको धमिलो पानी पिउन बाध्य छन, विद्युत्का लागि पोल गाडेको भए पनि हालसम्म बत्ती बलेको छैन ,सडक बनाउन नगरपालिकाले ध्यान दिएको छैन । ” 

उपप्रमुख जुना जाग्रीले नगरपालिकाबाट प्रदेश सरकार र केन्द्र सरकारलाई पत्र पठाएकोे, वर्षेनी डुग्रीखोलाले खेतीयोग्य जमिन कटान गर्ने भएकाले त्यसतर्फ तटबन्धसमेत गरेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “छिटो–छरितो काम गर्नका लागि पहल गरेकी छु । चाँडै समस्या समाधान हुनेछ ।” हाल पुल नहुँदा करिब २५ परिवार समस्यामा परेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!