प्रदेश ७ लाई देशकै नमूना बनाउँछु: सभामुख थापा

Posted on: 10 May, 2018

वैशाख २७ बझाङ | भेटघाटका लागि गृहजिल्ला बझाङ पुग्नुभएका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताउनुभयो । 

“गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ,” उहाँले भन्नुभयो । 

सभामुख थापाले भन्नुभयो, “जेठको पहिलो साता बजेट अधिवेशन हुँदैछ, पश्चिम सेती, अपर सेतीलगायत युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्नेछु ।” 

बझाङको विकासका लागि ग्रामीण भेगमा बनेका सडकको स्तरोन्नति, केन्द्रीय प्रसारणलाइन जोड्ने चैनपुर ताक्लोकोट सडकखण्डको सुरुङमार्ग हिउँ जम्ने ठाउँमा निर्माण गर्ने र सदरमुकाम चैनपुरलाई नमूना सदरमुकाम बनाउन बजेट विनियोजन गर्ने उहाँको भनाइ छ । 

साइपाल गाउँपालिकाबाट हुने जडीबुटीको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताउनुभयो । विकासका लागि तेरो मेरो हैन हामी सबैको हो भन्ने भावना सबैमा जाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो | रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!