दाइजो दिएको १ बाख्राबाट शुरु गरेको बाख्रापालन यसरी फष्टायो

Posted on: 19 May, 2018

सम्राट सिंह | जेठ ५, बझाङ | श्रीमतीले माइती घरबाट दाइजो ल्याएको एक बाख्राबाट संञ्चालन गरेको बाख्रापालन फष्टाएको छ । थलारा गाउँपालिका ६ पिखेत घर भएका आनन्द रोकायाले श्रीमतीले माइतीबाट दाइजो ल्याएको बाख्राबाट शुरु गरेको बाख्रा पालन अहिले फष्टाएको हो । 

नौ बर्ष अगाडि माइतीबाट ल्याएको १ बाख्राबाट शुरु गरेको बाख्रापालन फष्टाएर अहिले उनीसँग खसी, बोका, बाख्रा गरी  १ सय ५० फर्ममा छन् । 

रोजगारीका लागि भारतमा चौकीदारी गर्न जाने आनन्दले बाख्रापालनमा लागेपछि बार्षिक ६ देखि ९ लाख सम्म आम्दानी गर्ने गरेका छन । झण्डै १० बर्ष सम्म गरेको बाख्रापालन बाट रोकायाले छोरा छोरीलाई अध्ययन गर्न  काठमाडौ पठाएका छन भने धनगढीमा १ कट्टा घडेरी समेत लिइसकेका छन ।

उनको १ छोरा, २ छोरी, आफु र श्रीमती गरी ५ जनाको परिवार रहेको छ । बाख्रापालन राम्रो सँग फष्टाएपछि हाल उनले थप कुखुरा फर्म र  तरकारी खेती पनी शुरु गरेका छन ।   

सुन्दा अचम्म लाग्ला बाख्रापालनमा उनले पालेको कुकुरको महत्वपूर्ण भुमिका रहेको छ । बिहान फर्मबाट जंगल लगेदेखि बेलुका फर्ममा फर्किन सम्म कुकुरले गोठालोको मुमिका गरिरहेको बाख्रापालक आनन्द रोकायाले बताए । बाख्रापालनमा आफु सफल हुनुमा आफुले पालेको कुकुरको भुमिका महत्वपूर्ण भएको उनको भनाइ छ । 

रोकायाले बाख्रापालनमा सफलता पाएपछि हाल यहाँका अन्य युवाहरु पनि बाख्रापालन ब्यवसायमा आकर्षित भएका छन् । बाख्रापालन ब्यवसायबाट मगन्य आम्दानी हुनथालेपछि पिखेत गाउँका अन्य युवाहरु पनि बाख्रापालन ब्यवसायतिर उन्मुख भएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!