बझाङ जिल्ला अस्पतालको फार्मेसीमा भ्रष्टाचार

Posted on: 07 Aug, 2018

टेकेन्द्र बोहरा, साउन २७, बझाङ । बझाङ जिल्ला अस्पतालमा सञ्चालनमा रहेको फार्मेसीमा करिब तीन लाख रुपैयाँ घोटाला भएको रहस्य खुलेको छ । 

फार्मेसीमा रकम हिनामिना भएको हुनसक्ने गुनासो आएपछि हेल्थ असिस्टेन दीपकबहादुर ऐडीको संयोजकत्वमा बनेको दुई सदस्यीय छानबिन टोलीले बुझाएको प्रतिवेदनमा करिब तीन लाख रुपियाँ हिनामिना भएको रहस्य सार्वजनिक भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा सञ्चालन गरिएको फार्मेसीमा घोटाला भएपछि जिल्ला स्वास्थ्य कार्यालयले छानबिन समिति गठन गरी छानबिन सुरु गरेको थियो ।

 बेलाबेलामा रकम हिनामिना भएको खबर आइरहने जिल्ला स्वास्थ्य कार्यालयमा यसरी फार्मेसीको हिसाब किताब पारदर्शी नभएको, मनोमानी हिसाबले निजी मेडिकल जस्तै गरी सञ्चालनमा ल्याइएपछि व्यापक गुनासो बढेको थियो । 

जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर अनुप रेग्मीले जिल्ला अस्पतालमा सञ्चालन गरेको फार्मेसीमा तीन लाख रुपैयाँ हिनामिना भएको बताउनुभयो । 

उहाँले फार्मेसीको हिसाब पारदर्शी थिएन त्यसैले समिति बनाइ छानबिन गर्दा घोटाला भएको भेटियो भन्नुभयो । ऐडीले आफूले तयार पारेको प्रतिवेदन अस्पताल विकास समितिलाई बुझाइसकेको जानकारी दिनुभयो । 

फार्मेसीको रकम हिनामिना गर्नमा फार्मेसीमा बस्ने दुई जना कर्मचारीसहित अन्य पाँच÷छ जनाको संलग्नता पाइएको प्रतिवेदनमा उल्लेख छ । केही रकम फार्मेसीका कर्मचारीले राख्ने, केही रकम लेखामा बुझाउने, केही रकम लेखापालले राख्ने गरेका कारण उक्त रकम हिनामिना भएको बुझिएको छ । कुन कर्मचारीले कति रकम हिनामिना गरेका छन् भन्ने खुल्न सकेको छैन । 

फार्मेसीमा जम्मा भएको रकम सदरमुकाम चैनपुरमा रहेको सिटिजन बैङ्कमा जम्मा गर्नुपर्ने हुन्छ । केही रकम मात्रै जम्मा हुने भए पनि बाँकी रकम कर्मचारीको मिलेमतोमा नै बाँडफाँट गरी हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । 

अस्पताल विकास समितिले उक्त रकम असुल गर्नका लागि सम्बन्धित कर्मचारीलाई पत्र काट्ने निर्णय गरेको जनाइएको छ । 

अहिले फार्मेसीमा काम गर्ने कर्मचारी नभएका कारण फार्मेसी दुई हप्तादेखि बन्द रहेको कार्यालय प्रमुख डा. अनुप रेग्मीले बताउनुभयो । कर्मचारीले फार्मेसीमा काम गर्न नसक्ने भन्दै छोडेपछि फार्मेसी बन्द गर्नुपरेको डा. रेग्मीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!