बझाङमा लैगिंक हिंसाबिरुद्धको अभियान सुरु, शहरमा मात्र अभियान केन्द्रित

Posted on: 25 Nov, 2018

टेकेन्द्र बोहरा | मङ्सिर ९, बझाङ । अन्य जिल्ला जस्तै बझाङमा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘लैंङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ बझाङमा पनि अभियान सुरु भएको हो । 

महिला माथि हुने विभिन्न प्रकारका हिंसा यहाँ पनि थुप्रै हुने गरेका छन् । तर, पनि अहिलेसम्म खासै नियन्त्रण हुन सकेका छैनन् । यो पटकको यो हिंसाविरुद्धको अभियानले नियन्त्रणमा सघाउ पुर्याउने अधिकारकर्मीले अपेक्षा लिएका छन् । 

बझाङमा विशेष गरी मदिरा सेवनबाट हुने हिंसाका घटना व्यापक छन् । अशिक्षाका कारण घरेलु हिंसाको मारमा परेका अधिकांश महिला अझैं पनि आफूमाथिको घटना बाहिर ल्याउन डराउने गरेका छन् । यो अवस्था बझाङमा पनि छ ।

महिला माथि हुने विभिन्न प्रकारका हिंसा न्यूनिकरणका लागि जनचेतनामा व्यापकता दिनुपर्नेमा अभियानमा सहभागी अधिकारकर्मी एवं सरोकारवालाले जोड दिएका छन् । 


महिला अधिकार मञ्च बझाङ, युएन एफ पिए र सञ्चारीका समूहको आर्थिक सहयोगमा महिला हिंसा अन्त्य दिवसको अवसरमा जिल्ला सदरमुकाम चैनपुरमा विभिन्न अभियानका कार्यक्रम सञ्चालन गरिएको महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशीले बताइन् । 

विगत जस्तै यो पटक पनि जिल्लामा अभियान शहर मात्र केन्द्रीत हुने भएको छ । दुर्गममा पनि महिला माथिका हिंसा व्यापक भएपनि अधिकारकर्मीको अभियान शहर केन्द्रीत मात्र देखिएको हो । 

होटलको कोठामा मात्र ठूलाठूला कुरा गर्ने अधिकारकर्मीका नारा ‘दिवस’ का दिन पनि दुगर्मसम्म नपुग्दा यहाँका पहिलाका पिडामा मल्हम पट्टी लाग्न सकेको छैन । 

हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!