बझाङमा ३१ सय ३७ गरिब परिवारले गरे स्वास्थ्य बिमा

Posted on: 11 Mar, 2019

सम्राट सिंह । फागुन २७, बझाङ । सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्येश्यले ल्याएको स्वास्थ्य विमामा अति गरिब परिवारलाई निशुल्क बिमा गर्न थालेपछि जिल्लामा ३१ सय ३७ घर परिवारले स्वास्थ्य बिमा गरेका छन ।

गरिब परिचयपत्रको आधारमा निशुल्क स्वास्थ्य बिमा गर्न थालेपछि जिल्लामा हुनेखाने भन्दा  अति गरिब परिवारहरुले स्वास्थ्य बिमा गर्ने संख्यामा बृद्घि भएको हो ।

बैशाख ३० गतेबाट सदस्यता बितरण कार्य सुरु भएको बझाङमा हालसम्म ३१ सय ३७ अति गरिब परिवारका १७ हजार ७ सय ३९ जनाले र ७ सय ५४ परिवारका  ३६ सय ३८ जनाले बिमा रकम तिरेर स्वास्थ्य बिमा गरेका छन ।

१० महिनामा बझाङमा कुल जनसंख्याको ११ प्रतिशत मानिसहरुले स्वास्थ्य बिमा गरिसकेको स्वास्थ्य बिमा बझाङका दर्ता अधिकारी खगेन्द्र भट्टले जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्वास्थ्य बिमाको मुल निति रहेको उनको भनाइ छ । उनले अशिक्षित भन्दा शिक्षितहरुले नै स्वास्थ्य विमा गर्न चाँसो नदेखाएको गुनासो गरे । 

भट्टका अनुसार हालसम्म बिमाबाट सङकलित प्रिमियम रकम २० लाख रहेको र खर्च भने नभएको जनाएको छ । 

भाद्र १ गतेबाट अहिलेसम्म १ हजार ७५ जना बिमकले निशुल्क अस्पतालबाट आकस्मिक सेवा,अन्तरंग सेवा,प्रयोगशाला सेवा र औषधि लगायतका सेवा सुविधा समेत लिइसकेको स्वास्थ्य बिमा बझाङको तथ्यांकमा उल्लेख छ । 

जिल्लामा दरबन्दी अनुसारका डाक्टरहरु नहुँदा स्वास्थ्य बिमा गर्ने बिमकहरुले जिल्ला अस्पतालको सेवा सुविधामा ढिलासुस्ती हुने गरेको गुनासो पोख्ने गरेका छन । 

जिल्लामा भनेजति निशुल्क पाइने औषधिहरु समेत नपाइने , जिल्ला अस्पतालको फार्मेसी राती बन्द गर्नाले बिरामीहरुलाई समस्या हुने गरेको स्वास्थ्य विमक रामबिर बोहराले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!