बुङ्गलमा ५ शैयाको कोरोना अस्पताल, संक्रमितको निशुल्क उपचार गरिने

Posted on: 09 Nov, 2020

कार्तिक २४, बझाङ | बझाङको बुङ्गल नगरपालिकाले पाँच शैयाको कोरोना अस्पताल निर्माण गरेको छ | नगरपालिको वडा नं ८ स्थित शंकरखोला स्वास्थ्य चौकीलाई कोरोना अस्पताल बनाएको हो | नगरपालिका भरिकै राम्रो भौतिक व्यवस्था भएको उक्त स्वास्थ्य चौकीमा अक्सिजन सहितको पाँच शैयाको व्यवस्था गरेको छ |

नगरपालिकाले कार्तिक ६ देखि हाँजिर हुनेगरी एमबिबिएस डाक्टर सुमन श्रेष्ठलाई नियुक्ति गरेको छ | अहिले डा श्रेष्ठ र आफू पोष्टमाटम तालिमको लागि चैनपुर भएको बताउंदै, बुङ्गल स्वास्थ्य शाखा संयोजक नैंन बहादुर सिंहले भने,"केहि समय पछि उक्त अस्पतालमै पोष्टमाटम समेत हुन्छ |" नगरपालिकाले कोरोना संक्रमण देखिएका वा अस्पतालको बेडमा बसेका बिरामीको खान,बस्न र उपचार निशुल्क गर्ने भएको छ |  त्यस्तै विदेशबाट आएकाहरुले अनिवार्य होम आइसोलेसंनमा बसी पाँच दिनपछि स्वाब संकलनका लागि स्वास्थ्य संस्थानमा उपस्थित हुनुपर्ने छ | 

सिंहका अनुसार,उक्त अस्पतालको क्षमता भन्दा बढी संक्रमित भेटिएमा नगरपालिकाको १ नम्बर वडा  पौडीमा रहेको महिला भवनलाई कोरोना अस्पताल बनाइने तयारी भएको छ | हालसम्म नगरपालिका भरी संक्रमितको संख्या र क्वारेन्टाइनमा बस्नेको संख्या भने शुन्य छ |

व्यवस्थापनको क्रममै केहि समय पछि सोहि अस्पतालमा एक्सरे र भिडियो एक्सरे मेसिन पनि राख्ने योजना रहेको ८ नम्बर वडाध्यक्ष शिवसंकर जाग्रिले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!